Ads

ट्रम्प र जेलेन्स्कीको भेटवार्ता चर्को बहसमा परिणत


काठमाडौं, । शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको भेटवार्ता चर्को बहसमा परिणत भएको छ ।

ट्रम्पले जेलेन्स्की शान्ति नचाहेको र उनले सम्झौता नगरे अमेरिका यस युद्धबाट बाहिरिने चेतावनी दिएक छन् । युक्रेनले रुससँग युद्ध जित्न नसक्ने दाबी गर्दै ट्रम्पले जेलेन्स्कीले अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप पनि लगाएका छन् ।

ट्रम्प र जेलेन्स्कीबीचको बहसका क्रममा अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभा चरम तनावमा देखिन्थे । ओभल अफिसबाट सार्वजनिक भएको भिडियोमा युक्रेनी राजदूतले निधार र अनुहारमा हात राखेको देखिन्छ । ओक्साना ओभल अफिसमा दुई नेताको नजिकै बसिरहेकी थिइन् र उनको चिन्ता विश्वका सञ्चारमाध्यमको क्यामेराले कैद गरेको थियो।

जेलेन्स्की दुई देशबीच बहुमूल्य खनिजको सम्झौता गर्न अमेरिका भ्रमणमा गएका थिए तर अहिले त्यो सम्झौता अलपत्र परेको छ । दुई नेताबीचको चर्को विवादका कारण भेटघाटपछि हुने पत्रकार सम्मेलन पनि रद्द भएको थियो भने जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरको बाटो देखाइएको थियो ।

भेटपछि ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट सेयर गर्दै जेलेन्स्कीमाथि धेरै आरोप लगाएका थिए । ट्रम्पले भने, ‘‘बैठकमा धेरै कुराहरू आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। मलाई कुनै फाइदा छैन, म शान्ति चाहन्छु।’’

ट्रम्पले भने, ‘‘उनले (जेलेन्स्की) अमेरिकाको अपमान गरेका छन्। यदि उनी शान्ति चाहन्छन् भने उनी यहाँ फर्कन सक्छन्।’’

यो घटनापछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनले शान्ति चाहेको बताए । उनले लेखेका छन्, ‘‘धन्यवाद अमेरिका, सहयोगको लागि धन्यवाद, यो भ्रमणको लागि धन्यवाद, अमेरिकी राष्ट्रपति, कांग्रेस र अमेरिकी जनतालाई धन्यवाद। युक्रेनले मात्र शान्ति चाहन्छ र हामी त्यसका लागि काम गरिरहेका छौं।’’

उनले अमेरिकी टिभी च्यानल फक्स न्युजलाई अन्तर्वार्ता पनि दिएका थिए । यस क्रममा उनले ओभल अफिसमा विश्व मिडियाका अगाडि जे भयो त्यो राम्रो नभएको बताए । तर, यस क्रममा उनले ट्रम्पसँगको आफ्नो सम्बन्धलाई जोगाउन सकिनेमा आफू विश्वस्त रहेको पनि बताए । बीबीसी

Ads

सम्बन्धित पोष्टहरू