Ads

वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली


काठमाडौं, । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ ।

शुक्रबार (फागुन २३) बिहान ८ः३३ बजेको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकार्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।

यस दिन पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको बताए । चीर ठड्याइसकेपछि विधिवत् रूपमा होली पर्व सुरु भएको मानिने जानकारी दिए ।

होली पर्व असत्यमाथि सत्यको जित भएका रूपमा पनि मान्ने गरिएको उनले उल्लेख गरे । “बाँसै किन चाहियो भन्ने कुरा पनि छ । भगवान् विष्णुलाई सबैभन्दा मन पर्ने बाँस नै हो । चीरको महत्त्व परापूर्वकालदेखि नै छ,” उनले भने, “असत्यमाथि सत्यको जितको रूपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत् रूपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो ।”

यो वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र चैत १ गते परेको छ । २९ गते हिमाली र पहाडी जिल्लामा र चैत १ गते तराईमा होलीको सार्वजनिक बिदा दिइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू