काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारासहित फागुन २६ र २७ गते सम्मेलन गर्न लागेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा विभिन्न विषयमा प्यानल डिसकसन समेत हुनेछ ।
सम्मेलनबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागिएको बताए । तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बीमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रलाई सहयोग पुग्ने उनले बताए । आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवर्द्धन हुने उनको भनाइ छ ।
सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमनमात्रै नभई प्रवर्द्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको उनले बताए । रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी सम्मेलनमा ५ सय जनाको सहभागिता हुनेछन् ।
नेपालको श्रम बजारमा १५ देखि ६५ वर्ष उमेर समूहका करिब ६७ प्रतिशत श्रमशक्ति रहेको मन्त्रालयले जनाएको छ । वर्तमान समयको जनसांख्यिक लाभको अवस्थाको आन्तरिक श्रम बजारमा उचित प्रयोग नभएको र सीप तथा क्षमता विकासमा क्रियाकलापहरूले श्रम बजारको माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन नसकेको अवस्था देखिएको मन्त्री भण्डारीले बताए ।
नेपालको वर्तमान अवस्थाको विश्लेषण, नयाँ र परिष्कृत रूपमा श्रम तथा रोजगारीका अवधारणको पहिचान र आगामी रणनीतिक मार्गदर्शनका बारेमा छलफल गरी मुलुकको दीर्घकालीन आवश्यकता परिपूर्ति गर्ने उद्देश्य रहेको मन्त्री भण्डारीले बताए । श्रम तथा रोजगार क्षेत्रमा कार्यरत विज्ञ, शैक्षिक संस्था, ट्रेड युनियन, व्यावसायी/रोजगारदाता, विकास साझेदार एवम् गैरसरकारी निकायबिच छलफल हुने उनको भनाइ छ ।
सम्मेलनमा भएका छलफल र सुझाव बमोजिम सोह्र योजना तथा दिगो विकासका लक्ष्य प्राप्ति समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोचलाई साकार पार्न आवश्यक नीतिगत र कानुनी सुधार गरिने मन्त्री भण्डारीले बताए । सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा रोजगार सम्मेलन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्