Ads

उदयपुरमा लागुऔषध दुर्व्यसनी बढे


गाईघाट (उदयपुर),। जिल्लामा एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनःबढ्न थालेको छ । छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर्ता वृद्धि हुँदै गएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाभित्रबाट पनि केही गाँजा कारोबारकर्ताले बाहिर गाँजा बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए । उनका अनुसार गत साउनदेखि फागुनको दोस्रो सातासम्ममा मात्र जिल्लामा ९० जना लागुऔषध कारोबारकर्ता र केही प्रयोगकर्ता पक्राउ परेका छन् ।

पक्राउ गरिएकामध्ये ४७ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जनाउँदै प्रनाउ दोङले २५ जनालाई कारागारमा राखिएको उल्लेख गरे । उनका अनुसार ३२ जनालाई धरौटीमा छाडिएको छ ।

अहिले सबैभन्दा बढी समस्याका रूपमा सप्तरी, सुनसरी र सिरहको सीमानाकाबाट लागुऔषधका विभिन्न ट्याब्लेटहरू कारोबारकर्ताले उदयपुर भित्र्याउने गरेका प्रनाउ दोङले बताए । जिल्लाको पूर्वी क्षेत्रको बेलका र पश्चिमी क्षेत्रको कटारी, उदयपुरगढी क्षेत्र भएर सप्तरी, सिरहामा गाँजा तस्कर हुने गरेको उनको भनाइ छ ।

जिल्लाको पूर्वी क्षेत्रको बेलका र चौदण्डीगढी नगरपालिकामा सप्तरी र सुनसरीको सिमाना हुँदै जिल्लाभित्र गाँजा तस्करी बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको सिमा क्षेत्रमा प्रहरी तथा सुरक्षाकर्मी चौबीसैँ घण्टा कडाइका साथ तैनाथ गरिए पनि लागुऔषध कारोबार बढ्दै गइरहेकाले प्रहरीलाई चुनौती थपिएको उनले बताए ।

एक वर्षअघिसम्म जिल्ला प्रहरी कार्यालयले जिल्लाका गाउँगाउँका विद्यालय तथा बस्ती र सडकमा ‘नो ड्रग्स’ अभियान सञ्चालन गर्दै आएको थियो । उक्त अभियानका कारण केही समय लागुऔषध दुव्र्यसनी न्यूनीकरण भएकामा अहिले फेरि कारोबार र दुव्र्यसन वृद्धि हुँदै गएका प्रनाउ दोङले उल्लेख गरे ।

अहिले जिल्लाभित्रबाट बाहिर गाँजा पैठारी नियन्त्रण गर्नु निकै चुनौतीका रूपमा देखिएको बताउँदै बाहिरबाट लागुऔषध भित्रीक्रम पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीले बताए । कारोबारकर्ताले राजमार्गभन्दा पनि चुरे क्षेत्रको जङ्गलको बाटोबाट पैदल हिडेर चोरबाटो हुँदै कारोबार गर्न थालेपछि प्रहरीलाई सुरक्षा र नियन्त्रणमा चुनौती उनको भनाइ छ ।

लागुऔषध कारोबार बढ्दै जान थालेपछि प्रहरीले नागरिकसहित सबैले साथ दिएमा लागुऔषध ओसारपसार र दुव्र्यसनी न्यूनीकरण गर्न सकिने बताउँदै योगीले नागरिक समाज, आमनागरिकलाई सहयोगका लागि आग्रह गरे। रासस

Ads

सम्बन्धित पोष्टहरू