Ads

फराकिलो जित निकाल्दै एपिएफ राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा


चितवन, । विभागीय टोली एपिएफ फुटबल क्लबले चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा एपिएफले बागमती युथ क्लबविरुद्ध ९–० को फराकिलो जित निकालेको हो ।

भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मी कुमारी घिसिङले ह्याट्रिक गरिन् । यस्तै सरु लिम्बु र रेनुका नगरकोटेले समान २–२ तथा गीता राना मगर र प्रतिक्षा चौधरीले एक-एक गोल गरे । ह्याट्रिक गरेकी रश्मी प्लेयर अफ दि म्याच हुँदै १० हजार रुपैँया प्राप्त गरिन् ।

एपिएफले अब सेमिफाइनलमा भरतपुर २४ को सामना गर्नेछ । भरतपुर २४ यस अघि एन्फा मकवानपुरलाई ५–० ले हराउँदै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगितामा आज (मंगलबार) पहिलो चरणको अन्तिम खेल हुनेछ । जहाँ त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Ads

सम्बन्धित पोष्टहरू