काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको, अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुची अनुसार विदेश जाने शिलशिला विश्वव्यापी रहेको प्रधानमन्त्री ओलीले भने ।‘देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु पनि हुँदैन ।
व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ ।
संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’’
प्रतिक्रिया दिनुहोस्