काठमाडौं, । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको आरोप लगाएका छन् । शुक्रबार वीरगन्जमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्न बनेको उनले उल्लेख गरे । उनले वर्तमान सरकारले भ्रष्टाचारीलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको जिकिर गरे ।भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको उनले आरोप लगाए ।
“…राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,” उनले भने, “लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूलाठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ । उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ ।”
उनले ०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको बताए । आफू ०८४ सम्म जनताकै साथमा रहने उनको भनाइ थियो ।
सरकारमा हुँदा एउटा र प्रतिपक्षमा पुग्दा अर्को भन्ने कुरा माओवादीमा लागु नहुने उनले जिकिर गरे । उनले सरकारमा हुँदा आफूहरूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको बताए । आर्थिक विकासका निम्ति गति दिने विषयमा आफूहरूले सरकारमा हुँदा जोड दिएको उनले सुनाए ।आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको उनले टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्