काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले गरेको जरिवानासम्बन्धी पत्र निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको छ ।
महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले हुलाकबाट जरिवानापत्र पठाइएको बताए । “आज नगरप्रहरी टोली जरिवानापत्र लिएर निर्मलनिवास पुगेको थियो । तर, जरिवानापत्र बुझ्न मानेन । भर्खरै हुलाकमार्फत पत्र पठाइसकेका छौँ,” उनले भने ।
आइतबार (चैत १७) बिहान महानगरको नगरप्रहरी टोली उक्त पत्र लिएर निर्मलनिवास गेटमा पुगेको थियो । महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।
प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो । तीनकुने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्