काठमाडौँ, । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले स्थानीय तहमा आधारभूत अस्पतालको घोषणा भएपनि संरचना नबन्दा समस्या भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको गोदावारी नगरपालिकामा सञ्चालित ‘अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा’ कार्यक्रमलाई सोमबार यहाँ सम्बोधन गर्दै उहाँले भौतिक संरचना बनेका अस्पतालमा स्वास्थ्य जनशक्ति नपुगेर जनताले आधारभूत स्वास्थ्य सेवासमेत पाउन नसकेको बताउनुभयो । आधारभूत स्वास्थ्य सेवालाई संविधानमा मौलिक हक बनाए पनि कार्यान्वयन हुन नसकेको सभापति थापाको भनाइ छ ।
“सरकारी स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि निःशुल्क पाइन्छ भन्ने तर नदिने गर्दा नागरिक असन्तुष्ट भएका छन् । माथिल्लो वर्गसँग लिएर तल्लो वर्गलाई दिने समन्वयकारी भूमिकामा राज्यले काम गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले जानकारी गराउनुभयो । परियोजना पूर्ण रूपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न उहाँले आग्रह गर्नुभयो । परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा प्रजनन स्वास्थ्य अधिकार ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उपप्रमुख रोकायाको भनाइ छ ।
यो परियोजना सम्पन्न भएपछि नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धि हुने स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताउनुभयो । पालिकामा १८ वटा स्वास्थ्य संस्था रहेको बताउँदै सेवाका बारेमा सुसूचीत नभएको उहाँले सुनाउनुभयो । “पालिकामा १०७ जना स्वास्थ्यकर्मी छन् । सबैलाई समेट्न सकिएको छैन । स्वास्थ्य स्वयंसेवकले छ महिनादेखि तलब नपाएको, प्रदेश र केन्द्रले निःशुल्क उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराउनेलगायत विषय स्वास्थ्य क्षेत्रमा समस्याका रूपमा छन्”, उहाँले भन्नुभयो ।
अन्यको तुलनामा गोदावरी नगरपालिका अगाडि रहेको मञ्चका अधिवक्ता दिपेश श्रेष्ठले बताउनुभयो । प्रगतिशील स्थानीय कानुन निर्माण गरेर पालिकाले आफूलाई अगाडि राखेको उहाँको भनाइ छ । केयर नेपालका कालिदास जोशीले १२ वटा वडामा २१ वटा समुदाय गठन गरी सहजकर्ता तोकेर काम भइरहेको जानकारी दिनुभयो ।
समुदायस्तरीय जवाफदेहीताबारे निड्स नेपालकी कार्यक्रम अधिकृत रुचि रानामगरले स्पष्ट पार्नुभएको थियो । रिप्रडक्टिभ राइटका प्रभावर श्रेष्ठले गोदावारी नगरपालिकामा सञ्चालन भएको पाइलट परियोजनाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो । कार्यक्रममा परियोजना सञ्चालनको उद्देश्य, तयारी र चुनौतीका बारेमा श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।
सेन्टर फर रिप्रोडक्टिभ राइटकी प्रविना बज्राचार्यले दुई वटा समूहलाई एक ठाउँमा राखेर काम गर्नुपरेको बताउनुभयो । परियोजना सम्पन्न भएपछि प्राकृतिक जोखिममा प्रजनन स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयमा पालिकाले उपलब्धि हालिस गरेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कैलालीको गोदावरी नगरपालिकामा पाइलट प्रोजेक्टका रूपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरिरहेका छन् । विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शङ्कर धामीले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्