राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ उनको आज काठमाडौंस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भनेका छन्, ‘राप्रपाका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य मा. दिपक बोहोराको काठमाण्डौंको ओम हस्पिटलमा भरखरै दुःखद निधन भएको छ । उहाँको निधनबाट राप्रपाले समन्वयकारी छवि भएको आफ्नो संस्थापक नेता, रुपन्देहीले विकासप्रेमी लोकप्रिय जनप्रतिनिधि र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको छ ।’
२०७७ जेठमा दोस्रो लहर फैलिँदा कोभिड संक्रमण भएको चार महिनापछि बोहराको आवाजमा समस्या आएको थियो । त्यसबेला महाराजगञ्ज टिचिङ्ग अस्पताल, नयाँ दिल्ली र अमेरिकाको न्युयोर्कमा पटक पटक उपचार गराए । पछिल्लो समय उनी बालुवाटारस्थित घरमा कोमाजस्तै अवस्थामा थिए ।
२०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई हराएर बोहराले रुपन्देही क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए । विद्यार्थी मण्डलबाट राजनीति शुरु गरेका उनी ०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । पञ्चायती शासनको अन्त्यपछि राप्रपाबाट राजनीतिलाई निरन्तरता दिएका उनी २०७० सालमा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए ।
बोहरा २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्