काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पदमुक्त भएका छन् ।
सैनिक ‘कू’ गर्ने घोषणा गरेपछि योलमाथि लगाइएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको छ । यससँगै उनी पदमुक्त भएका हुन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार संवैधानिक अदालतका आठै जना सदस्य योलमाथिको महाभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एक मत भएका थिए । उनी पदमुक्त भएसँगै दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ ।
गत डिसेम्बर ३ मा राष्ट्रपति योलले देशमा सैनिक कानुन घोषणा गरेका थिए । तर, उनको घोषणालाई दुई घन्टामै संसदले उल्ट्याइदिएको थियो । बहुमत सांसदहरूले राष्ट्रपतिको कदमविरूद्ध मतदान गरेपछि राष्ट्रपति योलको कमद असफल बनेको थियो । लोकतन्त्रमाथि प्रहार गरेको भन्दै संसदले राष्ट्रपति योलमाथि महाभियोग लगाइएको थियो ।
दक्षिण कोरियामा संसदबाट लगाएको महाभियोगमा संवैधानिक अदालतले अन्तिम फैसला गर्छ । शुक्रबार संवैधानिक अदालतले योलमाथिको महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट पदमुक्त भएका छन् ।
योलपछि दक्षिण कोरियाली संसदले कार्यवहाक राष्ट्रपति हान डक सूलाई पनि महाभियोग लगाएको थियो । उनीमाथिको महाभियोग संवैधानिक अदालतले अस्वीकृत गरिदिएपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पुनर्बहाली भइसकेका छन् । अब उनैले आगामी ६० दिनभित्र दक्षिण कोरियामा चुनाव गराउनेछन् ।
प्रतिक्रिया दिनुहोस्