Ads

पर्यटकले भरिँदै बुर्तिबाङ बजार : बढ्यो होटलमा लगानी


बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार अहिले पर्यटकीय र व्यापारिक दुवै हिसाबले चलायमान छ। जब कि धेरै ठाउँका बजारमा व्यापारिक सटर खाली हुँदै व्यवसाय धरासायी बन्दै गएको छ, यो बजार भने फस्टाउँदो छ।

सरकारले देशका १० नमूना सहर बनाउने सूचीमा राखेको यो बजार नयाँ सहरका रूपमा विकसित हुँदैछ। ढोरपाटन नगरपालिकाको केन्द्र रहेको बुर्तिबाङ निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहर पनि हो। चार पालिकाको स्वास्थ्य, किनमेल र प्रशासनिक काम यहीँबाट हुन्छ। इलाका प्रशासन, नापी र मालपोत कार्यालय पनि यही छन्।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ छ। पछिल्लो समय आन्तरिक पर्यटक बढेसँगै होटल व्यवसाय पनि राम्रो चल्न थालेको छ। ढोरपाटन सिकार आरक्ष र ढोरबराही जाने पर्यटक यहाँ बास बस्छन्। मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुमबाट पनि पर्यटक आउन थालेका छन्।

होटल व्यवसायी जीतबहादुर भट्टचन भन्छन्, ‘बागलुङबाट रुकुम जाने पर्यटक र यात्री यहाँ आउँछन्। आन्तरिक पर्यटकको चापले होटलमा लगानी बढेको छ। निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीय ठाउँ घुम्न आउने पाहुना यहाँ खान र बस्न आइपुग्छन्। सिकार आरक्ष पुग्ने पर्यटकले बुर्तिबाङको सम्भावना बढाएको छ। ठूला होटल थपिँदैछन् र पर्यटकीय याममा होटल भरिन्छन्।’ उनले यो बजार जनघनत्व भएको र नयाँ सहरोन्मुख भएकाले अन्य बजारभन्दा चलायमान भएको बताए।

यहाँको स्वास्थ्य सेवाका लागि ५० शय्याको प्रदेशस्तरीय अस्पताल र सामुदायिक क्याम्पस पनि छन्। मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बजार झनै चलायमान भएको स्थानीय हीराबहादुर भण्डारी बताउँछन्। ‘बुर्तिबाङ–ढोरपाटन सडक पनि कालोपत्र भए अझै सहज हुन्छ,’ उनले भने। एक हजार २०० घर भएको यो बजारमा किनमेल गर्नेको भीड लाग्छ। बुटवलसँगै राजमार्गले जोडिएपछि पर्यटकले यहाँको बजारलाई चलायमान बनाएका छन्।

ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्याल भन्छन्, ‘मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षले बजार गुल्जार बनाएको छ। लोकमार्ग कालोपत्र भएर रुकुमसँग जोडिएपछि रुकुमपूर्वबाट यातायात र मालबाहक सवारी यहाँ हुँदै चल्छन्। ढोरपाटन घुम्न आउने र काठमाडौँबाट रारा जाने पर्यटक पनि यो मार्ग प्रयोग गर्छन्।’

उनले थपे, ‘लोकमार्गले रुकुमका सवारी काठमाडौँलगायत ठूला सहर पुग्छन्। रारा जाने पर्यटक छोटो बाटोका रूपमा यहाँ बसेर जान्छन्। अन्य सहरको तुलनामा बुर्तिबाङ चलायमान छ। ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटल नहुनु र रुकुमपूर्व ८५ किलोमिटर टाढा भएकाले पर्यटक यहाँ एक रात बिताउँछन्। यो नयाँ सहर सम्भावना बोकेर विकसित भइरहेको छ।’

राष्ट्रिय गौरवको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय अझै फस्टाउने अपेक्षा छ।

Ads

सम्बन्धित पोष्टहरू