चितवन,। नेपाल सुपर लिग (एनएसएल) सुरु भएको भर्खर नौ दिन पुगेको छ, लिग चरणका आधा जति खेल भने आइतबार सकिए । यतिसम्ममा चितवन शीर्ष स्थानमै छ । अहिलेसम्मका १० खेलमध्ये आधा त बराबरीमै टुंगिएका छन्, त्यसमध्ये चितवन र पुछारमा रहेको बुटवल–लुम्बिनीबीचको अन्तर भनेकै छ अंक मात्रै हो ।
त्यसैले लिग चरणका बाँकी ११ खेलले अंक तालिकामा धेरै फरक पार्न सक्नेछ, उतारचढावका प्रचुर सम्भावना कायम रहेका छन् । चितवनको तीन खेलबाट सात अंक भएको छ । प्रशिक्षक नवीन न्यौपाने मान्छन्, चितवन शीर्षमा मात्र छैन, ‘कन्फर्ट जोन’ मा पनि छ । तर उनकै भाषामा चितवनले मुखैमा आएको तीन अंक गुमाएको छ र त्यसमध्ये एकै अंकमा चित्त बुझाउनुपर्यो ।
अर्कोतर्फ झापाले सुरुआती तीन खेलमा लगातार बराबरी खेल्यो र तीन अंकमै रह्यो । उसले सुरुका दुई खेलमा गोल गर्न सकेको थिएन, कम्तीमा यस खेलमा भने एक गोल आत्मसात् गर्न सफल रह्यो । यस सिजन अहिलेसम्म कुल २१ गोल भए, त्यसमध्ये एकतिहाइ गोल दोस्रो हाफको इन्ज्युरी समयमै भएका छन्, त्यसैले यो निकै संवेदनशील सावित भएको छ ।
यस संस्करणको एउटा ठूलो विशेषताका रूपमा यो तथ्य रहेको छ । दोस्रो हाफको इन्ज्युरी समय लामो मात्र छैनन्, यही समय केहीका लागि अवसर र केहीका लागि दुर्भाग्य । यसपल्ट दुर्भाग्य चितवनको भाग्यमा रह्यो, अन्यथा चितवनले जादुयी नौ अंक छुन सफल हुन्थ्यो र शीर्ष स्थानमा आफ्नो प्रवेश निश्चितजस्तै गर्न सफल हुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्