Ads

छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री


कैलाली । जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त सङ्ख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो ।

हालसम्म पुस्तक बिक्रीबाट रु आठ करोड ३१ लाख आम्दानी भएको जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए । उनले भने, “हामीले यही चैत १७ गतेदेखि पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री सुरु गरेका थियौँ । पहाडी जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा पाठ्यपुस्तक गइसकेको छ । डोटी र डडेल्धुरामा बाँकी रहेको पाठ्यपुस्तक गइरहेको छ । शैक्षिकसत्र अगावै सबै जिल्लामा पुस्तक पुग्छ ।”

कञ्चनपुरमा चैत २६ गतेदेखि र कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिने उनले जानकारी दिए । उनले भने, “पाठ्यपुस्तक पर्याप्त छ । समयमा प्रदेशभरिका सबै जिल्लामा पुर्‍याउने छौँ ।”

कार्यालय प्रमुख श्रेष्ठका अनुसार प्रदेशभरि आगामी शैक्षिकसत्र २०८२ का लागि १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ । उनले हाल कक्षा ३ देखि १० सम्मका पाठ्यपुस्तक बिक्री भइरहेको बताउँदै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि फाट्टफुट्ट बिक्री भइरहेको जानकारी दिए ।

प्रदेशमा आगामी शैक्षिकसत्रमा रु २५ करोड बराबरको पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । चालु शैक्षिकसत्रमा रु २२ करोड ५७ लाख बराबरका पाठ्यपुस्तक बिक्री गरिएको केन्द्रले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू