Ads

तीनकुने घटनामा अनुसन्धानको प्रक्रिया जारी छः गृहमन्त्री लेखक


काठमाडौँ, । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायत घटनामा संलग्नहरुरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज उनले उक्त प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाइँलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताए ।

सोही प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिए । “घाइतेलाई अस्पतालमा पुगेर मैले भेटेको छु । घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहतस्वरुप रु दश÷दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ”, उनले भने ।

गृहमन्त्री लेखकले तीन कुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्यासमेत गरे । “लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी उचित हुदैन” उनले भने,“ हिन्दू धर्म जस्तो उत्कृष्ट धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्दैन ।”

गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएकामा जोड दिए । त्यसैले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो । “यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर छ । घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक कार्य हो भन्नेमा प्रष्ट छौँ”, उनले भने । रासस

 

Ads

सम्बन्धित पोष्टहरू