Ads

८ लाखले दर्शन गरे बिक्रमबाबा, कति भयो कारोबार ?


काठमाडौँ, । यसबर्ष करिब ८ लाख भक्तजनले चितवनको प्रसिद्ध धार्मिक तिर्थस्थल बिक्रमबाबाको दर्शन गरेका छन । भरतपुर महानगरपालिका–२३ कसरामा चैत १६ गतेबाट सुरु भएको बिक्रम बाबा मेला आइतबार सकिएको छ । यो अवधिमा करिब ८ लाख भक्तजनले बिक्रमबाबा दर्शन गरेको भरतपुर महानगरपालिका वडा नम्वर–२३ का वडाअध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा करिब २ करोड बढिको कारोबार भएको छ । उहाँले मौसम अनुकुल नहुँदा लक्ष्य अनुसारको भक्तजनको संख्या बिक्रमबाबा नआएको बताउनुभयो । चैते दसैंको अवसर पारेर भएको बिक्रम बाबा मेला चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै हुने मेलाको व्यवस्थापन स्थानीय टोल विकास संस्था, चितवन राष्ट्रिय निकुञ्ज, भरतपुर महानगरपालिकाको वडा नं. २३ र नजिकका मध्यवर्ती उपभोक्ता समूहले व्यवस्थापन गरेका थिए । चैत औंसीदेखि पूर्णिमासम्म चल्ने मेला औंसीको दिन थारु समुदायका गुरौले पूजाआजा गरेपछि औपचारिकरूपमा शुभारम्भ हुने प्रचलन छ ।

यसअघिका वर्षहरुमा थारु जातिकै गुरौ भए पनि ब्राम्हणहरुले समेत पूजाआजा गर्ने गरिएकोमा यसबर्ष थारु जातिको पहिचान नमेटियोस् भनेर थारु गुरौलाई नै आधिकारिकरुपमा तोकेरै पूजापाठ गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष दवाडीले बताउनुभयो । यहाँका आदिवासी थारु समुदायले सदियौँदेखि पुज्दै आएको विक्रमबाबालाई अहिले सबै समुदायले आस्थाको केन्द्र बनाएका छन् । थारु समुदायले तीनै लोकका ठकुराइन (मालिक)का रुपमा पुज्ने गरेको विक्रमबाबालाई पछिल्लो समय सबै जातजातिले पुज्ने गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जभित्र रुखको फेदमा रहेको विक्रमबाबा पूजास्थलमा तराई र पहाडी मूलका साथै सबै जातजातिले पुज्ने गरेका छन् ।

थारु कल्याणकारी सभा चितवनका सचिव एवं पत्रकार सन्तकुमार चौधरी थारु समुदायको पनि गुरौँ घरानाले मात्रै पुज्ने गरेको विक्रमबाबामा विस्तारै थारुकै अरु समुदाय पनि भाकल गर्न जाने गरेको बताउनुहुन्छ । मेलालाई व्यवस्थित गर्न स्थानीय समेत जुटेका थिए । बिहान ७ देखि बेलुका ५ बजेसम्म पूजाका लागि निकुञ्जमा प्रवेश खुला गरिएको थियो भने मेला बिहान ६ देखि साँझ ८ बजेसम्म सञ्चालन भएको थियो । पूजा निकुञ्जभित्र भए पनि मेला भने भरतपुर–२३ स्थित घैलाघारी सामुदायिक वनको चौरमा भएको थियो । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू