काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्समाथि कीर्तिमानी जित निकालेको छ ।
मंगलबार राति ११२ रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सलाई ९५ रनमा अलआउट गर्दै पञ्जाब किंग्सले १६ रनको कीर्तिमानी जित निकालेको हो । आईपीएलको इतिहासमा रक्षा भएको सबैभन्दा कम योगफल हो ।
पञ्जाबले दिएको ११२ रनको लक्ष्य पछ्याएको कोलकाता १५.१ ओभरमा ९५ रनमै समेटियो ।
कोलकाताका अंगकृश रघुवंशीले सर्वाधिक ३७ रन जोडे । यस्तै, कप्तान अजिंक्या रहाने र आन्द्रे रसेलले समान १७–१७ रन थपे ।
पञ्जाबका युजभेन्द्र चहलले चार विकेट लिए । यस्तै, मार्को जानसेनले तीन तथा ग्लेन म्याक्सवेल, अर्शदीप सिंह र जेभियर बार्टलेटले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले १५.३ ओभरमा सबै विकेट गुमाएर १११ रनको झिनो योगफल तयार पारेको थियो ।
पञ्जाबका प्रभसिमरन सिंहले ३०, प्रियांश आर्यले २२, शशांक सिंहले १८, जेभियर बार्टलेटले ११ र नेहल वधेराले १० रन बनाएका थिए ।
कोलकाताका हर्षित रानाले तीन विकेट लिए । वरुण चक्रवर्ती र सुनील नरिनेले समान दुई विकेट लिँदा एनरिच नोत्र्जे र वैभव अरोराको नाममा एक–एक विकेट रह्यो ।
जितसँगै ६ खेलबाट ८ अंक जोडेको पञ्जाब तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित कोलकाता भने ७ खेलबाट ६ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्