झापाको कनकाई नगरपालिका–१ र २ मा रहेको जामुनखाडी सामुदायिक वन र सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ।
विसं २०६५ मा स्थापित यो पूर्वको पुरानो पर्यटकीय स्थल हो। जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीका अनुसार यही वैशाख १ गते नयाँ वर्षमा पाँच हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आए। सात-आठ वर्षदेखि चर्चित रहेको यो क्षेत्र केही समय ओझेलमा परे पनि अहिले पर्यटकको आगमन बढेको उनले बताए।
जामुनखाडीलाई व्यवस्थित गर्दै आकर्षण थपिएपछि पर्यटक बढेका हुन्। हालै बाल उद्यान र विभिन्न प्रतिमा राखिएको उनले जानकारी दिए।
स्थापनादेखि नै जङ्गली जनावरलाई आश्रय दिँदै आएको यो वनको कुल ४४३ हेक्टर क्षेत्रमध्ये ३२ हेक्टरमा सिमसार र पर्यटकीय क्षेत्र छ। अध्यक्ष गिरीले २०७२ मा सामुदायिक वनको कार्यविधिलाई डिभिजन वन कार्यालयले अनुमोदन गरेको स्मरण गरे। सोही कार्यविधिअनुसार पूर्वाधार, जनावरको बासस्थान निर्माण भइरहेको उनले बताए।
सिमसार क्षेत्रमा ११ बिघामा मृगस्थली र अन्य जनावरका लागि सुरक्षित आवास छ। चित्तल, हरिण, बँदेल, चितुवा, भालु, अजिङ्गर, बाँदर, खयारो, विभिन्न मुसा, हाँस र चराहरू छन्। वन समूहले यी वन्यजन्तुको आहार व्यवस्था गरेको छ।
वन समूहका सचिव दीपक ओलीले प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा दिएको एक करोड ५० लाख रुपैयाँले वन्यजन्तु संरक्षणका पूर्वाधार बनाइएको बताए। टुरिजम बोर्डले पनि सहयोग गरेको उनको भनाइ छ।
प्राकृतिक सुन्दरताले भरिएको जामुनखाडीमा एक समय वार्षिक दुई-तीन लाख पर्यटक आउने गरेको सचिव ओली सम्झन्छन्। उनले भने, ‘आर्थिक अभावले समयअनुसार पर्यटकीयस्थलको विकास गर्न सकेका छैनौँ। सरकारले सहयोग गरे जामुनखलाई पूर्वको नमूना पर्यटकीयस्थल बनाउन कुनै समस्या छैन।’
उपाध्यक्ष रेनुका खवासले पर्यटकीयस्थल व्यवस्थित बनाउन सबै पदाधिकारी खटिएको बताइन्। उनले भनिन्, ‘भर्खरै चिल्ड्रेन पार्क बनाएका छौँ। यसले पनि पर्यटक आकर्षित भइरहेका छन्।’
कोषाध्यक्ष चेतकुमारी सापकोटाले संरक्षित जनावरलाई दैनिक खाना र कर्मचारीको तलब व्यवस्थापनमा आर्थिक अभाव हुने बताइन्। उनले भनिन्, ‘१५ जनाभन्दा बढी कर्मचारी छन्। कर्मचारीलाई ढिलोचाँडो तलब दिए पनि जनावरका लागि दैनिक घाँसदेखि मासुसम्म व्यवस्थापन गर्नुपर्छ। त्यसका लागि आर्थिक अभाव हुन्छ।’
पूर्वपश्चिम लोकमार्गदेखि करिब एक किलोमिटर उत्तरमा रहेको जामुनखाडीमा यातायातको सहज पहुँच छ। पर्यटकका लागि प्रवेश शुल्क १०० रुपैयाँ छ भने डुङ्गा सयर, बाल उद्यानमा रेल, गाडीलगायतका खेलका लागि छुट्टै शुल्क लाग्छ।
प्रतिक्रिया दिनुहोस्