यही वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को वार्षिक परीक्षा नरोकिने भएको छ ।
मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले यसअघि यही वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेकाले परीक्षा के हुने भन्ने अन्योल थियो ।
तर, बोर्डले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको तयारी भइसकेकाले तोकिएकै मितिमा गर्ने निर्णय भएको जानकारी दिए ।
शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा सञ्चालन गर्ने बोर्ड बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्