Ads

एमसीसी परियोजना बन्द गर्ने ट्रम्प प्रशासनको निर्णय


ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ ।

एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो ।

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा बन्द गर्न लागेको सीएनएनले जनाएको छ ।

एमसीसी परियोजनाअन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ ।

सीएनएनको समाचारअनुसार विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख छ ।

सोअनुसार संस्थाका कर्मचारी पनि कटौती गरिनेछ । ९० दिनभित्र एमसीसीका सबै कार्यक्रमहरू बन्द गरिने जानकारी दिइएको सीएनएनले जनाएको छ ।

इमेलअनुसार ३२० जनाभन्दा बढी कर्मचारी भएको यो संस्थाले योग्य कर्मचारीहरूलाई स्वैच्छिक अवकाश र स्थगित राजीनामाको विकल्प दिएको छ । प्रस्तावमा रुचि राख्नेहरूलाई अप्रिल २९ सम्म इमेल पठाउन भनिएको छ । केही कर्मचारीहरूलाई मे ५ बाट बिदामा राख्न सकिने जनाइएको छ, यद्यपि यसबारे मिति स्पष्ट गरिएको छैन ।

सन् २००४ मा कंग्रेसद्वारा सिर्जना गरिएको एमसीसीले युक्रेन एल साल्भाडोर र नेपाललगायत दर्जनौं विकासशील देशहरूलाई पूर्वाधार र नीति सुधारका लागि सहयोग गर्दै आएको थियो । एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा स्थापना गरिएको थियो ।

एमसीसीलाई चीनको बेल्ट एण्ड रोड पहलप्रति अमेरिकी प्रतिक्रियाको रूपमा हेरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू