Ads

शिक्षक महासंघले भन्यो- हाम्रो आन्दोलन जारी छ


काठमाडौं । शिक्षक महासंघ नेपालले शिक्षकहरुको आन्दोलन जारी रहेको जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन् । बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो ।

शुक्रबार बिहान महासंघ अध्यक्ष सुवेदीले सदाझै बिहान ११ बजे आन्दोलनस्थलमा जम्मा हुन आह्वान गरेका छन् । उनले अध्यक्ष सुवेदीले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ । साथीहरुको अनुशासित र संयमित व्यवहार सहितको सक्रिय सहभागिताले आन्दोलनको गरिमा बढाएको छ ।’ उनले शिक्षकहरूलाई बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन स्थलमै रहन पनि आग्रह गरेका छन् ।

‘हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ’ उनले भनेका छन्, ‘अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।’

आजदेखि संसदको बर्खे अधिवेशन पनि सुरू हुँदैछ । यो पटकको अधिवेशनले बजेटसँगै विद्यालय शिक्षा विधेयक टुंगो लगाउने भनेको छ । विद्यालय शिक्षा विधेयक टुंगो लगाएर शिक्षकहरूको माग शीघ्र सम्बोधन गरी उनीहरूलाई काममा फर्काउने भनेको छ ।

Ads

सम्बन्धित पोष्टहरू