Ads

निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन जारी रहने: चिकित्सक संघ


काठमाडौं । आन्दोलनरत निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबीचको पहिलो चरणको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूको माग सम्बोधन नगरेको भन्दै आवासीय चिकित्सक र नेपाल चिकत्सिक संघले बिहीबार जिल्ला स्तरमा जिल्ला प्रशासन कार्यालय र काठमाडौंमा स्वास्थ्य मन्त्रालय घेराउ गरेपछि स्वास्थ्य मन्त्रालयमा वार्ता भएको थियो । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले सरकारले तोकेको निर्वाह भत्ता नपाएपछि २९ दिनदेखि सडक आन्दोलनमा उत्रिएका थिए ।

वार्तामा चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले आवासीय चिकित्सकको खातामा सरकारी आठौं तहसरह निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन नरोकिने बताउनुभएको थियो । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकबाट निर्णय भएको मासिक ४८ हजार ७ सय ३७ रुपियाँ निर्वाह भत्तामा दिन नमाने निजी मेडिकल कलेजका कुनै पनि काम मन्त्रालयबाट नहुने भन्दै उक्त निर्णयलाई जसरी पनि कार्यान्वयनमा ल्याउने बताउनुभएको थियो ।

डा. कार्कीले निजी मेडिकल कलेज सञ्चालकहरूले निर्वाह भत्तासम्बन्धी निर्णय कार्यान्वयन गर्न अटेरी गरेको भन्दै निजी अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारले भत्ता दिलाएर सरकारी अस्पतालमै सार्नसमेत आग्रहसमेत गर्नुभयो ।

मन्त्री पौडेलसँगको वार्तामा आवासीय चिकित्सकहरूले सरकारले गरेको निर्णयको कार्यान्वयनका माग गर्दा निजी मेडिकल कलेजका सञ्चालकहरूले चिकित्सकहरूमाथि ज्यानै लिनेसम्मको धावा बोलेको र बारम्बार धम्क्याउँदै आएको भन्दै निर्णयको कार्यान्वयनका साथै शान्ति सुरक्षाको समेत माग गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू