काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको नवितम् कविताकृति ‘चोटहरुको उत्सव’ कविता संग्रहको शुक्रबार विमोचन गरिएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उक्त कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा लगायतले विमोचन गरे ।
वरिष्ठ कवि, साहित्यकार एवम् संस्कृतिविद् तुलसी दिवसले ‘चोटहरुको कविता’ संग्रह पढेपछि चोटहरुले मान्छेलाई मान्छे बनाउँछ भन्नेमा आफू विश्वस्त भएको जनाउनु भयो । चोटहरु मानिसको जीवनमा अत्यन्त महत्वपूर्ण हुने जनाउँदै उहाँले चोट पाएपछि नै मान्छेको इतिहास नेपालमा मात्रै होइन, विश्वमै अम्मर बनेको दृष्टान्त प्रस्तुत गर्नुभयो । बेलबासेको कृति आफूलाई सार्थक लागेको बताउँदै उहाँले भन्नुभयो, “चोट परेपछि दुःखपीडा त लाग्छ नै, आँसु त चुहिन्छ नै तर आँसु चुहुनु पनि कहिलेकाहीँ हाँसोभन्दा बढी महत्वपूर्ण हुन्छ ।” उत्सव खुसी र रमाइलोको मात्रै होइन, चोटहरुको पनि हुन्छ भन्ने सन्देश ‘चोटहरुको उत्सव’ भन्ने कविता संग्रहले प्रष्ट पारेको पनि वरिष्ठ कवि दिवसले जनाउनु भयो । धेरै कवि तथा साहित्यकारहरु चोट खाएर असाधारण क्षमता भएको व्यक्ति भएर देश–विदेशमा नाम राखेको उहाँको भनाइ थियो ।
चर्चित गायिका आनीले बेलवासेलाई कृतिका लागि बधाई दिँदै भन्नुभयाे, ‘महको स्वाद चाखेको तर महको बयान गर्न नजानेको जस्तो लाग्छ। बेलवासेले देखेकाभोगेका अनुभव सँगालेर सुन्दर कविता कोर्न सफल भएका छन्। कविता सुन्दा आनन्द आउँछ।’
कृतिका समीक्षक शंकर तिवारीले ‘चोटहरुको उत्सव’ कृति मार्फत विचार र बिम्बमा खेल्ने क्षमता आफूले बेलबासेको कवितामा पाएको भन्दै प्रशंसा गर्नुभयो । बेलबासेका कविताहरुमा आशा र निराशाका कुराहरु, सहज र सरल प्रेम, वोधगम्य-अवोधगम्यलगायत समेटिएको तिवारीले प्रष्ट पार्नुभयो ।
लोकार्पित कृतिका कविताहरु कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास र शोभा अधिकारीले वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार शान्ता मानवी, पृथ्वी विचारका अभियन्ता झलक बस्नेत, राजकुमार बानियाँ, सोभित उप्रेतीलगायत दुईसय जनाको उपस्थिति रहेको थियो ।
कविताकृति सार्वजनिकीकरण समारोहमा आयोजक सुनसरी वाङमय प्रतिष्ठानको तर्फबाट कार्यक्रमको सुरुवातमा पूर्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै प्रष्ठिानका अध्यक्ष छविरमण सिलवालले कविताकृति प्रकाशन गर्ने अवसर दिएको भन्दै कवि बेलबासेलाई धन्यवाद दिँदै सम्मानपत्रले सम्मान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्