भरतपुर,। पौडी खेल्ने क्रममा डुबेर भरतपुरका दुई विद्यार्थीको मृत्यु भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगंज घर भएका प्रविशन पाठक र वडा नं. ४ लंकु घर भएका शिशिर पन्तको मृत्यु भएको हो । आज (सोमबार) दिउँसो २ बजे पौडी खेल्ने क्रममा उनीहरु डुबेका थिए ।
युटुबमा भिडिओ हेरेर तीन जना साथिभाइ पौडी खेल्न जुक्तीखोलामा पुगेका थिए । पौडी खेल्ने क्रममा एकजना साथि डुबेपछि बचाउन जाने क्रममा अर्का किशोरको पनि डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटकी प्रमुख इनिस्पेक्टर कमला नरालले जानकारी दिनुभयो । उनीहरु डुबेको केही समयपछि नजिकै रहेको पुल निर्माण गर्ने मजदुरहरुले शव बाहिर निकालेको नरालले बताउनुभयो ।
मृतक पाठक र पन्त दुवैजना एसईई परीक्षा सकेर घरमै बस्दै आएका थिए । उनिहरुको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ । जुक्तीखोलामा निर्माण भैरहेको पक्कीपुलका कारण सो खोलाको माथिल्लो भागमा पानी जम्मा भएकाले सो स्थानमा पौडी खेल्नका लागि युवाहरु पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्