Ads

नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा


काठमाडौँ, । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुग्नुभएको छ ।

अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुग्नुहुँदा उहाँलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो । नेजाको निमन्त्रणामा महासङ्घका अध्यक्ष शर्मा गत बुधबार यहाँबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा अतिथि तथा पत्रकारहरू गरी करिब २०० प्रतिनिधिको सहभागिता रहने ‘कन्भेनर’ रोशन अधिकारीले जानकारी दिनुभयो ।

नेजाका महासचिव बाबुराम दाहालका अनुसार सो अधिवेशनमा भाग लिन ८१ प्रतिनिधिले सदस्यता दर्ता गरिसकेको, नेजाको वार्षिक प्रकाशन ‘प्रयास’ सार्वजनिक गरिनाका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मानसमेत प्रदान गरिने कार्यक्रम छ ।

गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको नवौँ अधिवेशनलाई लस भेगसका नेपाली समुदायले निकै उत्सुकताका साथ सहकार्य गरेको बताउनुभयो । रासस

Ads

सम्बन्धित पोष्टहरू