Ads

जेनजी पुस्तालाई वर्षमानको सुझाव : राजनीतिक नेतृत्वमा आउनुपर्छ


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात (जेनजी) पुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन् ।

विद्यार्थी एकता दिवसका अवसरमा पार्टी सम्वद्ध अखिल क्रान्तिकारी काठमाडौं महानगर समितिद्वारा बिहीबार आयोजित फुटसल प्रतियोगिता उद्घाटन गर्दै पुनले यस्तो बताएका हुन् ।

उनले जेनजी पुस्ताले राजनीतिमा नेतृत्व विकास गर्नुपर्ने पनि बताए । त्यसका लागि राजनीतिक दलहरूले पनि वातावरण बनाइदिनुपर्ने उनले बताए ।

पुनले जेनजीलाई नेतृत्वमा ल्याउने प्रयास स्वरुप आफ्नो दलले ३० वर्षभन्दा कम उमेर समूहका विद्यार्थीलाई क्रान्तिकारीको नेतृत्वमा ल्याएको पनि उल्लेख गरे ।

जेनजीलाई नेतृत्वमा ल्याएकै कारण हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रान्तिकारीले कांग्रेसको नेविसंघ र एमालेको अनेरास्ववियु हाराहारी हैसियत बनाउन सफल भएको पुनले उल्लेख गरे ।

‘जेनजी माओवादी केन्द्रले विद्यार्थी संगठनको नेतृत्व जेनजीको हातमा दिएर क्रान्ति गरेको छ । जेनजीको हातमा नेतृत्व जानु आफैंमा क्रान्ति हो । स्ववियुमा क्रान्तिकारीले राम्रो परिणाम निकाल्नुको कारण जेनजीमा नेतृत्व जानु हो,’ पुनले भने ।

डिजिटल प्रविधिमा अब्बल देखिएको जेनजी पुस्तालाई उनले केही सुझाव पनि दिए । डिजिटल प्रविधिले ल्याएका खराब प्रवृत्तिबाट टाढै रहन तथा इतिहास, प्रकृति र समाज बुझ्न पुनले आग्रह गरे ।

‘जेनजी भनेको सूचना प्रविधिको प्रयोग गरिरहेको पुस्ता हो । डिजिटल प्रविधिका धेरै फाइदा हुँदाहुँदै पनि व्यक्तिलाई समाजबाट अलग गराउने खतरा छ । डिजिटल दुनियाँमा अनगिन्ती सूचना छ । कुन सूचना सही र कुन कुन गलत भन्ने फिल्टर गर्न सक्नुपर्छ’, पुनले भने, ‘समयमै सचेत नहुने हो भने समाजलाई नै गलत बाटोमा ‘ड्राइभ’ गर्न सक्ने खतरा हुन्छ । डिजिटल प्रविधिले मानिसलाई प्रकृति र समाजसँग अलग बनाउने खतरा पनि उत्तिकै छ । संसारभर प्रकृतितिर र समाजतिर फर्किनुपर्छ भन्ने लहर पनि सुरु भएको छ ।’

कार्यक्रममा अतिथि र क्रान्तिकारीका पदाधिकारी टिमबीच मैत्रीपूर्ण प्रतियोगितासमेत भएको थियो ।

पञ्चायती व्यवस्थाविरुद्ध विभिन्न माग राखेर २०२१ साल जेठ १ गते विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका थिए ।

तत्कालीन पञ्चायती सरकारले आन्दोलन दबाउन ठूलो दमन गर्नुका साथै धेरैलाई पक्राउ गरेर थुन्यो । तर, विद्यार्थी आन्दोलन रोकिएन ।

थप सशक्त बनेको विद्यार्थी आन्दोलनका अगाडि झुकेर पञ्चायती सरकार क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खोल्न पाउनेसहित अधिकार दिन बाध्य भयो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १ लाई विद्यार्थी एकता दिवसका रुपमा मनाउने गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू