काठमाडौं,। राजधानी भित्रने सडकमार्गको मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० देखि २५ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । उक्त खण्ड यसअघि राति बन्द गरेर काम गरिँदै आएको थियो ।
आयोजनाले नागढुंगा–पिपलामोड बाटो निर्माणका निम्ति सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति भएको उनले जानकारी दिए ।“निर्माण आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रूपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि त्यसका लागि अनुमति दिइएको हो,” प्रजिअ तिवारीले भने ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले मंगलबार (जेठ ६) सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्