Ads

आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति पाैडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन् ।

देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागी भई ४७ औँ लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतल निवासमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

‘मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जानेछ’, उनले भने ।

त्यसको  लागि बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आगामी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।

‘बौद्ध तीर्थस्थलहरूको भ्रमण कार्यक्रमले मुलुकमा दिगो शान्ति र विकासका लागि टेवा मिल्नेछ भन्ने कुरामा विश्वस्त छु’, राष्ट्रपति पौडेलले भने ।

उनले यस यात्राबाट फर्किएका लामा तथा आनीले देशका विभिन्न बौद्ध गन्तव्यमा पुगेर केवल तीर्थयात्रा मात्र गरेका छैनन्, नेपाली समाजको धार्मिक ऐक्यबद्धता र आत्मिक समृद्धिको सन्देश पनि बोकेर आएको विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले समितिले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान सराहनीय छ भने  ।

Ads

सम्बन्धित पोष्टहरू