काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८८ अर्ब २० करोड पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर रु ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ ।
चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब छ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्