Ads

१५ जेठको जनप्रदर्शन सफल पार्न एमालेमा नेताहरूको जिम्मेवारी बाँडफाँट


नेकपा एमालेले जेठ १५ गते आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न नेताहरूलाई विभिन्न जिम्मेवारी दिएको छ ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा नेताहरूको शक्ति परिचालन गर्नका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो । महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रम चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो ।​​

जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेलामा महासचिव पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँटको जानकारी गराएका हुन् । पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचालन गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

जनसंगठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउँनेछन् ।

एमालेमा ठूलो जनाधार भएको संगठनको रुपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरूलाई दिइएको छ । जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ ।

लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ । कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेस प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्वकर्मालाई दिइएको छ ।

गणतन्त्र दिवसका दिन जेष्ठ १५ गते बिहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी,जनसंगठनको पहिचानसहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ । हिजोको सचिवालय बैठकले जेष्ठ १५ गते काठमाडौं सहित सबै पालिकाहरूमा गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू