Ads

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।

सोमबार ललितपुरस्थित ग्वार्कोमा एकता सभा गरी उनी माओवादीमा फर्किएका हुन् । दुई पाटीबीच भएको ५ बुँदे सहमतिअनुसार उनले सचिवको जिम्मेवारी पाएका छन् ।

लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले २०७२ सालमा माओवादी परित्याग गरेका थिए । उनले राजनीतिको हरेक मोडमा डा. बाबुराम भट्टराई निकट रहेर काम गरेका थिए । भट्टराईले थालेको वैकल्पिक नयाँ शक्ति अभियानलाई साथ दिन श्रेष्ठ माओवादी केन्द्रबाट बाहिरिएका थिए ।

२०७२ मा संविधान जारी भएपछि भट्टराईले असोज ९ गते माओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेका थिए । २०७४ सालको निर्वाचनमा नयाँ शक्ति नेपालले देशभर लज्जास्पद हार व्यहोर्‍यो । निर्वाचनमा पराजयपछि उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादीपार्टीसँग नयाँ शक्ति नेपालले एकता गरी जनता समाजवादी पार्टी(जसपा) नेपाल गठन भएको थियो ।

भट्टराई संघीय परिषद अध्यक्ष हुँदा श्रेष्ठ महासचिव थिए । जसपा हुँदै २०७९ सालमा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) गठन हुँदा श्रेष्ठ सह–अध्यक्ष भएका थिए ।

२०७९ निर्वाचनअघि नै माओवादीसँग एकताका लागि श्रेष्ठले निकै मेहनत गरेका थिए । उनको निरन्तर पहलकदमीका कारण भट्टराई माओवादीसँग एकता गरी नेकपा (समाजवादी) पार्टी बनाउन सहमत भएका थिए । एकताका लागि नेसपाले श्रेष्ठकै संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

९ बुँदे सैद्धान्तिक र वैचारिक एकताको आधारपत्र पठाइसकेको अवस्थामा एकताबाट भट्टराई पछि हटेपछि श्रेष्ठले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई साथ दिए ।

२०८० साल चैत ३ गते भट्टराईलाई बाइपास गरी नेसपाले माओवादीसँग एकता गर्ने तीन बुँदे सहमति गरेको थियो । यादवले पार्टी एकता प्रक्रियालाई १४ महिनासम्म अल्झाएपछि जेठ ११ गते श्रेष्ठले आफ्नै नेतृत्वमा नेसपा पुनर्गठन गरी माओवादीसँग एकता गर्ने निर्णय गरेका हुन् ।

एकता घोषणअघि माओवादीको बिहान बसेको पदाधिकारी बैठकले नेसपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । नौ बुँदै आधारपत्रकै आधारमा पार्टी एकता हुन लागेको दाबी गरेका श्रेष्ठले कार्यदिशा, पार्टीको नाम लगायत विषय एकता महाविधेशनबाट टुङ्गो लगाउने गरी सहमति भएको रातोपाटीलाई बताए ।

‘पार्टीको नाम, झण्डा, वैचारिक तथा सैद्धान्तिक कुरा एकता महाधिवेशनले टुङ्ग्याउने गरी एकता गर्ने निर्णय हामीले पहिल्यै नै गरिसकेका थियौँ,’ उनले भने ।

श्रेष्ठका अनुसार बाबुरामसहित एकता गर्नेगरी यसअघि निर्णय भइसके पनि अन्तिम समयमा उनी विभिन्न बहाना बनाएर बाहिरिएपछि महिन्द्र रायकै नेतृत्वमा पार्टी पुनर्गठन गरिएको थियो । महिन्द्र रायले पनि विभिन्न बहानामा एकता प्रक्रियालाई टार्दै आएपछि नेसपा पुनर्गठन गरी सोमबार एकता घोषणा गरेको श्रेष्ठले बताए ।

Ads

सम्बन्धित पोष्टहरू