काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतन्त्र र गणतन्त्रबीच तुलना हुन नसक्ने बताएका छन् ।
निरंकुशतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने बहसको विषय नभएको उनको भनाइ छ । “राज्यका अंग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नु पर्ने धेरै कुरा हुनसक्छन्,” प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस २०८२ को विशेष समारोहलाई सम्बोधन गर्दै भने, “गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ ।”
मुकुटको आडमा जनतामाथि शासन गरिनु सेवा नभएकोृ भन्दै उनले राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको बताए ।
“इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरू भए । जनतासँग भएका सम्झौताहरुलाई पटकपटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए,” उनले भने, “जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात बंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ ।”
तर, स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इसारा ठूलो हो भन्ने सोच्न पनि नसक्ने उनले बताए ।
“सहिदको बलिदान र लाखौँ नेपालीको सपनाभन्दा अढाइ सय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पुर्याउने एउटा वंशको विशेषाधिकार कुुनै अर्थमा पनि ठूलो हुनै सक्दैन,” उनले भने, “स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैन ।”
गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठः–
प्रतिक्रिया दिनुहोस्