काठमाडाैं । नेपाल सरकारको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत हुने अनुमान गरिएको छ ।
मधेश, कोशी र सुदूरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा माथि रहेको छ । चालु वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्नेछ ।कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत, उद्योगको १२ दशमलव ८३ प्रतिशत र सेवाक्षेत्रको ६२ दशमलव ०१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कूल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहेको छ ।
संघीय खर्च र राजस्वमा वृद्धि
गत फागुनसम्म संघीय खर्च ४ दशमलव ७ प्रतिशत र राजस्व १२ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्य रूपमा बढेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्ममा संघीय सरकारको वित्तीय घाटा १६ अर्ब १९ करोडमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७० अर्ब ३६ करोड थियो ।
फागुनसम्म कूल सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन जीडीपीको ४३ दशमलव ८ प्रतिशत हो ।
बैंकिङ पहुँच र वित्तीय अवस्था
आर्थिक सर्वेक्षणले सबै स्थानीय तहमा बैंकको शाखा पुगेको उल्लेख गरेको छ । एक शाखाबाट औसत २ हजार ५२७ जनसंख्याले सेवा पाइरहेका छन् ।
फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ दशमलव ५ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ७ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक २ हजार ७३६ दशमलव ४९ विन्दुमा कायम भएको छ । जीवन बीमाको पहुँच ४४ दशमलव १७ प्रतिशत जनसंख्यामा पुगेको छ ।
विदेश व्यापार र विप्रेषण
फागुनसम्म वस्तु निर्यात ५७ दशमलव २ प्रतिशत र वस्तु आयात ११ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । विप्रेषण आप्रवाह ९ दशमलव ४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ । चालु खाता र शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।
विदेशी मुद्रा सञ्चिति १४ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ ।
लगानी, ऊर्जा र पूर्वाधार
हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालमार्फत् ४७ खर्ब ६६ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।
वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्या विद्युत् पहुँच पुगेको छ । कूल जडित विद्युत् क्षमता ३ हजार ६०२ मेगावाट पुगेको छ ।
संघीय तथा स्थानीय तहबाट निर्माण भएको सडक सञ्जाल ३६ हजार १ सय ३२ किलोमिटरमा पुगेको छ । इन्टरनेट ग्राहकको घनत्व १४४ दशमलव २३ प्रतिशत र डिजिटल टेलिभिजन पहुँच ७२ प्रतिशत घरधुरीमा पुगेको छ ।
शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
आर्थिक सर्वेक्षणअनुसार मानव विकास सूचकांक शून्य दशमलव ६२२ पुगेको छ । विद्यालयमा आधारभूत तहको खुद भर्ना दर ९४ दशमलव १ प्रतिशत र माध्यमिक तहको ५५ दशमलव ८ प्रतिशत पुगेको छ ।
फागुनसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मिर्गौलासम्बन्धी निःशुल्क औषधिसहितको स्वास्थ्य सेवा पाएका छन् ।
आधारभूत खानेपानी सेवाको पहुँच ९६ दशमलव ८५ प्रतिशत जनसंख्या पुगेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३ सय ८९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्