भोजपुर । पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका–६ भङ्गेरीवासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौँदेखि पानीको समस्या झेल्दै आएका किसानलाई सहजता भएको हो ।
यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्विस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए । साझेदारीमा प्राप्त बजेटबाट यहाँ नौ सय २३ मिटर सिँचाइ कुलो निर्माण सम्पन्न गरिएको उनको भनाइ छ ।
“यहाँका किसानलाई सिँचाइ कुलो नहुँदा धेरै नै समस्या थियो”, उनले भने, “हामीले यो क्षेत्रलाई लक्षित गरेर धेरै पटक कुलोको माग गरिरहेका थियौँ । धेरै समयको मेहनतपछि कुलो निर्माण गर्न सफल भएका छौँ । यसले यहाँका किसानलाई प्रत्यक्ष लाभ पुगेको अवस्था छ ।”
यो कुलोले हिउँदे र बर्खे गरी तत्काललाई करिब ५० देखि ६० घरपरिवारको पाँच सय रोपनी क्षेत्रलाई सिँचाइ सुविधा पुग्ने वडाध्यक्ष कार्कीले बताए । यहाँ धेरै उर्वर भूमि रहेकोले सिँचाइ कुलो निर्माणले कृषि उत्पादनमा टेवा पुग्ने उनको भनाइ छ । सिँचाइ कुलो निर्माणले खेतीपातीको लागि सहजता भएको स्थानीयवासी रुद्रबहादुर कोइरालाले बताए । ओडारे, भण्डारे कुलो बनेपछि पुस्तौँदेखिको सिँचाइको समस्या अन्त्य भएको उनको भनाइ छ । कुलो निर्माण भएपछि ओडारे खोलाबाट पानी ल्याएर सहज रुपमा समयमा खेती गर्ने अवस्था रहेको उनले बताए ।
“सिँचाइ कुलो नहुँदाको समस्या भनेर साध्य छैन”, उनले भने, “खेतीको लागि आकाशे पानीको भर पर्नुपर्थ्यो । खेतको ब्याड, बीउ राख्न नै समस्या हुन्थ्यो । पानीको कारण दैनिक जसो छिमेकीसँग झगडा हुन्थ्यो । अहिले सिँचाइ कुलो बनेपछि हामीलाई सहज भएको छ । समयमा खेती गर्न पाएका छौँ । धेरै लामो समयपछि सिँचाइ कुलोको सपना पूरा भएको छ । हामीले एकदम खुसी छौँ ।”
कुलो निर्माणले धानबाली खेतीसँगै हिउँदको समयमा तरकारी तथा नगदेबाली खेतीका लागि सहजता हुने स्थानीय कृषक रिता कोइरालाले बताइन् । कुलो बनेपछि १० मिनेटमा खोलाबाट खेतमा पानी ल्याएर खेती गर्न सक्ने अवस्था निर्माण भएको उनको भनाइ छ । उनले वडाको पहलमा भएको कामले किसानको दैनिकीमा सहजता थपिएको बताइन् । सिँचाइ नहुँदा खेत बाझिँदै गएको अवस्थामा सिँचाइ विस्तारले ऊर्जा थपेको उनको भनाइ छ ।
निर्माणको काम सम्पन्न भएर पानी सञ्चालन गरिएको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदीप तामाङले बताए । आफ्नो गाउँघरमा सिँचाइको सुविधा विस्तारले उत्साह बढेको उनको भनाइ छ । कुलो निर्माणले किसानले खडेरीमा खेतीको लागि आकाश हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।
“भौगोलिक विकटताका कारण यो कुलो निर्माणमा धेरै समस्या थियो”, उनले भने, “भिरबाट कुलोलाई विस्तार गर्नुपर्ने भएकाले निकै जोखिम पनि थियो । हामी सबै उपभोक्ता मिलेर समयमा नै निर्माण सम्पन्न गरेका छौँ । सिँचाइ कुलो निर्माणमा हामीलाई सहजता भएको छ ।”
प्रतिक्रिया दिनुहोस्