नेपाली कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा समर्थित दल र समूहको आन्दोलनप्रति कटाक्ष गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले संविधानको घेरा गैरसंवैधानिक तरिकाले तोड्नु अनुचित भएको टिप्पणी गरेको हो ।
पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितका राजावादी दल र समूहले राजसंस्थाको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
‘संविधानमा केही सुधार गर्नुपर्ने छ भने जनप्रतिनिधिले नै गर्ने हो । तर, संविधानको घेरालाई गैरसंवैधानिक तरिकाले तोड्नु अनुचित छ,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘नेपालको संविधान कसैले दिएको होइन । हामी प्रतिनिधिले बनाएका हो । यसको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । हामी नै गर्छौं ।’
बैठकमा पार्टीको क्रियाशील सदस्यता, भ्रातृ संस्थाको अधिवेशनसहितका विषयमा पनि कांग्रेसले छलफल गरेको उनले जानकारी दिए ।
केही समयभित्रै बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाबारे निर्णय लिने प्रवक्ता डा. महतले बताए । अधिवेशन समयमा गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समिति भंग गर्ने कि समय थप्ने भन्नेमा कांग्रेसले निर्णय लिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्