Ads

जनआन्दोलन केही दिन लम्बिएको भए ज्ञानेन्द्र देश नै छोडेर भाग्नुपर्थ्योः देउवा


काठमाडौं, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरूको सदाशयताले मात्रै पूर्वराजा ज्ञानेन्द्रले देशमा बस्न पाएको टिप्पणी गरेका छन् । सोमबार बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले २०६२/६३ को जनआन्दोलनको उत्कर्ष सम्झिँदै यस्तो बताएका हुन् ।

दोस्रो जनआन्दोलन केही दिन मात्रै निरन्तर चलेको भए पूर्वराजा ज्ञानेन्द्र देश नै छोडेर भाग्नुपर्थ्यो । तर हामीले सदाशयता देखायौं,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसका एक पदाधिकारीले भने, ‘अहिले फेरि ज्ञानेन्द्र नारायणहिटीमा पस्न खोज्दैछन् । त्यो कुनै हालतमा सम्भव छैन । संविधानले पनि चिन्दैन । फेरि लोभ गर्न थाले भने राम्रो हुँदैन ।’​ राजावादीलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार रहेको भन्दै देउवाले संविधान र व्यवस्था मास्ने कुरा उचित नभएको बताएका थिए । अहिलेको भन्दा उन्नत व्यवस्था अर्को नभएको भन्दै देउवाले गणतन्त्रको पक्षमा काठमाडौं र प्रमुख शहरमा जागरणसभाका कार्यक्रम गरेर जानुपर्ने बताएका थिए ।

बैठकले पहिलो चरणमा केही दिनभित्रै काठमाडौंमा ठूलो सभा गर्ने र त्यसपछि अरु प्रमुख शहरमा सभाका कार्यक्रम गर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले बताए । विगतमा संवैधानिक राजा मान्दा कांग्रेसले पटकपटक धोका पाएको भन्दै कांग्रेसले अब कुनै पनि प्रकारको राजसंस्थाको पक्षमा नउभिने मत प्रकट गर्दै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू