Ads

अमेरिका प्रवेशमा १२ देशका नागरिकलाई पूर्ण प्रतिबन्ध


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका विदेशी नागरिकको हकमा अमेरिका प्रवेश (यात्रा) मा पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन्।

योसँगै थप ७ देशका नागरिकलाई आंशिक रूपमा अमेरिका प्रवेशमा रोक लगाइएको छ। ट्रम्पको पहिलो कार्यकालमा व्यापक विवाद सिर्जना गरेको यो नीति पुनः लागु गरिएको हो । जुन फेरि पनि कानुनी चुनौतीहरूको सामना गर्नसक्ने अनुमान गरिएको छ।

ट्रम्पले जुन ४ मा हस्ताक्षर गरेको घोषणापत्रमा उक्त प्रतिबन्ध लगाइएको हो। उनले ‘राष्ट्रिय सुरक्षामा’ जोखिम प्रस्तुत गर्ने भन्दै मुख्यतया मध्यपूर्वी तथा अफ्रिकी देशहरूका नागरिकहरूलाई लक्षित गर्दै प्रतिबन्धको घोषणा गरेका हुन्।

ओभल अफिसबाट जारी भिडियो सम्बोधनमा ट्रम्पले गत साता बोल्डर, कोलोराडोमा यहूदी समर्थक प्रदर्शनकारीहरूमाथि भएको आक्रमणलाई उदाहरण दिँदै कडा आपत्ति जनाएका छन्।

उक्त आक्रमण मिस्रका नागरिक मोहम्मद सब्री सोलिमानले गरेको आरोप छ, जो सन् २०२२ को अन्त्यतिर पर्यटक भिसामा अमेरिका आएका थिए र भिसाको अवधि सकिएपछि पनि बसेका थिए।

हालैको बोल्डरमा भएको आतंकवादी आक्रमणले के देखाएको छ भने अमेरिका प्रवेश गर्ने विदेशी नागरिकहरू वा भिसाको म्याद सकिएपछि बसिरहने व्यक्तिहरू देशका लागि धेरै खतरनाक सावित भएका छन् ।

ट्रम्पले भने, ‘हामी यस्ता मानिसहरू चाहँदैनौं।’

ध्यान दिनु पर्ने कुरा के हो भने मिस्रबाट आएका आक्रमणकारीको घटना उल्लेख गरिए पनि पनि मिस्र भने प्रतिबन्धित देशहरूको सूचीमा छैन।

‘२१ औं शताब्दीमा हामीले फेरिफेरी देखेका छौं कि आतंककारी आक्रमणहरू प्रायः खतरनाक देशहरूबाट भिसा लिएर आएका र त्यसको अवधि समाप्त भएपछि पनि बस्ने व्यक्तिहरूबाटै भएका छन्,’ ट्रम्पले भने, ‘युरोपमा जे भयो, त्यो अमेरिका मा हुन दिने छैनौं।’

यो कदम ट्रम्प प्रशासनको अवैध आप्रवासीहरूमाथिको कडा कारबाहीसँग मेल खान्छ।

प्रशासनले अमेरिकाभित्र रहेका अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने अभियानलाई तीव्र बनाएको छ, शरणार्थी पुनर्वास कार्यक्रम रोकिएको छ र हालै चिनियाँ विद्यार्थीहरूको भिसा पनि ‘आक्रामक रूपमा’ रद्द गर्ने घोषणा गरिएको थियो।

ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएका मुस्लिम बहुल देशहरूमा आधारित यात्रा प्रतिबन्धहरू अदालतमा बारम्बार उल्टाइएका थिए, यद्यपि अन्ततः तीमध्ये केही निर्णयहरूलाई समर्थन गरिएको थियो।

उनको पछिल्लो प्रतिबन्ध भने राष्ट्रपति पदमा पुनः नियुक्त भएपछि पहिलो दिनमैजारी गरिएको कार्यादेशअनुसार गरिएको हो, जसअनुसार विश्वभरका ती देशहरूको पहिचान गर्न भनिएको थियो, जहाँबाट अमेरिका प्रवेश गर्ने व्यक्तिहरूको पर्याप्त जाँच तथा छानबिन गर्न सम्भव छैन।

ट्रम्पले यस निर्णयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ तथा महान्यायाधीवक्ता प्याम बन्डीको सिफारिसलाई आधार बनाएको बताएका छन्।

‘जहाँबाट आउने व्यक्तिहरूलाई सुरक्षित र भरपर्दो तरिकाले जाँच गर्न सकिँदैन, त्यस्ता देशहरूसँग खुला आवागमन हामी राख्न सक्दैनौं,’ ट्रम्पले भने।

यी देशका नागरिकमाथी पूर्ण प्रतिबन्ध

अफगानिस्तान, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन

आंशिक प्रतिबन्ध लागू भएको देश
बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान, भेनेजुएला

Ads

सम्बन्धित पोष्टहरू