Ads

दिगो पर्यटन विकासका लागि सामूहिक रणनीति फराकिलो बनाउने निष्कर्षसहित सकियो ‘हिमालयन ट्राभल मार्ट’


काठमाडौँ, । दिगो पर्यटन विकासमा हिमालय मुलुकहरूबीच सामूहिक प्रयास तथा अन्तरराष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौँ संस्करण काठमाडौँमा बिहीबार सम्पन्न भएको छ ।

यही जेठ २० देखि २२ गतेसम्म भएको पर्यटन मार्टमार्फत विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास लिइएको छ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घसंस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा मार्ट आयोजना गरेको हो । मार्टमा ३० भन्दा बढी मुलुकबाट १०० भन्दा बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी सात सय प्रतिनिधिको सहभागिता थियो ।

मार्टको ठमेलस्थित एलओडी नाइट क्लबमा आयोजित एक कार्यक्रमकाबीच समापन गरिएको हो । मार्टमा सहभागी पाहुनाले विभिन्न साङ्गीतिक प्रस्तुतिका साथै डिजेको बेजोड प्रस्तुतिको आनन्द लिएका थिए । कार्यक्रममा मार्टमा सहभागी विदेशी प्रतिनिधिसहित पाटा नेपालका अध्यक्ष खेम लकाई, नेपाल वायुसेवा निगमका संथागत निर्देशक अनिल घिमिरे, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत, पर्यटन व्यवसायीलगायतको उपस्थिति थियो ।

मार्टमा ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयमा सम्मेलन तथा पर्यटनका विविभन्न विषयमा समूहगत छलफल गरिएको थियो । बोल्ने विज्ञहरूले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविकतायुक्त नेपालको अथाह पर्यटकीय सम्भावनाको उजागर गरी विश्वभरका पर्यटक आकर्षण गर्न समन्वय र सहकार्य जरूरी भएको खाँचो औँल्याए ।

मार्टका संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तरराष्ट्रिय स्रोत बजारहरूमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले पर्यटन मेला आयोजना गरिएको बताउनुभयो । सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हँुदै आएको एचटीएम नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तरदृष्टिलाई बढावा दिने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।

सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ता र विचारकले आध्यात्मिक, साहसिक र लक्जरी पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गरेका थिए । यस्तै बिटुबी कार्यक्रमअन्तर्गत यस वर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ भन्दा बढी विक्रेता सहभागी भएको पाटा नेपालले जनाएको छ ।रासस

Ads

सम्बन्धित पोष्टहरू