काठमाडौं। संसद् बैठक अघि विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायत विपक्षी दलका नेताहरू सहभागी छन् । दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठकअघि केही ढिलो गरी विपक्षी दलहरूको बैठक सुरु भएको हो ।
भिजिट भिसा प्रकरणमा सरकारसँग जवाफ माग्दै आएका विपक्षी दलहरू सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामासमेत माग गरेका थिए । तर पछिल्लो समय सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए संसद् चल्न दिने तयारीमा उनीहरू देखिएका छन् ।
सत्तापक्ष भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै छानबिनको प्रतिबद्धता जनाउन आवश्यक नरहेको तर्क गरिरहेको छ ।
यही विषयलाई लिएर सत्तापक्ष र विपक्षी दलबीच अनौपचारिक संवादपछि औपचारिक छलफलमा विपक्षीहरू जुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस्