माओवादी द्वन्द्वको दौरान निकै क्षति भोगेको कालिकोटको पिलीले अहिले युद्ध पर्यटनको सम्भावनाबाट आशाको संकेत देखाएको छ।
युद्धले भौतिक संरचना मात्र होइन, सामाजिक र मानसिक पाटोमा पनि गहिरो असर पारेको थियो। युद्धकालीन स्थलहरूको संरक्षण र ती स्थानलाई ऐतिहासिक र शैक्षिक दृष्टिकोणले प्रस्तुत गर्ने प्रयासले स्थानीयमा रोजगारी र विकासको सम्भावना जगाएको छ। यो पहलले पीडालाई स्मृतिमा रूपान्तरण गर्दै भविष्यप्रति सकारात्मक सोच विकास गराउन मद्दत पुर्याउने पिलीवासीको विश्वास छ।
कालीकोटको खाँडाचक्र नगरपालिका–७ स्थित पिलीलाई युद्ध पर्यटन गन्तव्यका रूपमा विकसित गर्ने काम भइरहेको छ।भौगोलिक रूपमा पनि विकट मानिने कालीकोटको पिलीलाई पर्यटकीय गन्तव्य बनाउन युद्ध संग्रहालयलगायतका संरचना बनाउन लागिएको हो। द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही माओवादीबिच भिडन्त भएको पिलीलाई संग्रहालय बनाउन कर्णाली प्रदेश सरकारको लगानीमा काम भइरहेको छ।
द्वन्द्वकालीन अन्तिम युद्ध लडिएको पिलीमा सबैभन्दा धेरै मानवीय क्षति भएको थियो। यहाँ २३ साउन २०६२ मा भिडन्त हुँदा दुवै पक्षका गरी एक सय तीन जनाको ज्यान गएको थियो। मुलुक संघीय संरचनामा नजाँदै तत्कालीन दाहा गाविस, जिल्ला विकास समिति, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलगायत निकायबाट यहाँ विभिन्न काम भएको थियो।
कर्णाली प्रदेश सरकारले संग्रहालय निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ। प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय कालीकोटले युद्ध संग्रहालय निर्माणका लागि आवश्यक काम गरिरहेको छ। पिलीमा पर्यटन प्रवद्र्धन गर्न संग्रहालय निर्माण थालिएको खाँडाचक्र नगरपालिकाका–७ का अध्यक्ष दीपकराज कार्की शाहीले बताए।
‘नगरपालिकाले समेत संग्रहालय निर्माणमा सहयोग गरिरहेको छ,’ उनले भने, ‘प्रदेश सरकारको लगानीमा संग्रहालय बनिरहेको छ। यसबाट युद्ध स्थलको संरक्षणसँगै पर्यटन प्रवर्द्धन भई आन्तरिक आम्दानी बढाउन सहयोग हुनेछ।’ द्वन्द्वका बेला तत्कालीन शाही सेना र विद्रोही माओवादीका लडाकुबिच युद्ध भएको पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकार र प्रदेश सरकार लागिपरेको उनले बताए।
आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारले पिलीलाई संग्रहालयका रूपमा विकास गर्न बजेट छुट्याएपछि डिभिजन वन कार्यालय कालीकोटले उपभोक्ता समितिमार्फत तीनवटा भवन र सात सय मिटर रेलिङसहितको बाटो निर्माण गरेको थियो। त्यसपछि कोरोना कहरका कारण बजेट विनियोजन हुन सकेन। पिलीलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न गत आर्थिक वर्ष प्रदेश सरकारले आठ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याएको थियो।
प्रतिक्रिया दिनुहोस्