Ads

कालीगण्डकी किनारमा ध्यान शिविर


वालिङ । कालीगण्डकी नदीको महत्व र ऐतिहासिक अवस्थाको जानकारी गराउन विद्यार्थीलाई नदीको तटमा ध्यान शिविर तथा प्रवचन कार्यक्रम गरिएको छ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मा रहेको रामनदीधाम संस्कृत गुरुकुलका विद्यार्थीलाई नदीको महत्वबारे जानकारी गराउन नदीको तटमा नै विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको गुरुकुलका प्राचार्य कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो।

धर्म, संस्कार र संस्कृतिको जानकारीसँगै पूर्वीय दर्शनबारे विद्यार्थीलाई प्रयोगात्मक रूपमा प्रशिक्षण गरिँदै आएको उहाँको भनाइ छ। बस्यालले भन्नुभयो, “ध्यान तथा नैतिक शिक्षालाई प्राथमिकतासाथ प्रशिक्षण गर्दै आएका छौँ।”

गुरुकुलमा स्याङ्जा, पाल्पा, गुल्मी, पर्वत, रुपन्देही, कपिलवस्तुलगायतका विद्यार्थीलाई आवासीय रूपमा संस्कृत शिक्षासहितको आधुनिक शिक्षा प्रदान गरिँदै आएको छ । गुरुकुलमा अहिले ११७ जना बटुक (विद्यार्थी) ले अध्ययन गरिरहेको प्राचार्य बस्यालले जानकारी दिनुभयो। कक्षा ६ देखि १० सम्म पढाइ हुँदै आएको गुरुकुलमा पाँच जना निजी स्रोतका गुरुले पढाउँदै आउनुभएको शिक्षक दीपक गैरेले बताउनुभयो। उहाँका अनुसार आधारभूत तहमा दुई जना मात्रै स्थायी शिक्षक कार्यरत छन्। २०८० को एसइई मा ९० प्रतिशत विद्यार्थी उत्कृष्ट अङ्कसहित उत्तीर्ण भएका गैरेले जानकारी दिनुभयो। १० जना विद्यार्थीमा नौ जना उत्तीर्ण भएका हुन्।

आधुनिक शिक्षासँगै संस्कृत विषयको पढाइ भइरहेकाले विद्यार्थी र अभिभावकको आकर्षण रहेको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो। कालीगण्डकी नदीको तटमै गुरुकुल भएकाले विद्यार्थी विभिन्न जिल्लाबाट आउने गरेको उहाँको भनाइ छ। गुरुकुलमा बस्ने बटुकका लागि निःशुल्क खानाको व्यवस्था मिलाइएको छ। विभिन्न दाता र व्यक्तिको सहयोगबाट बटुकलाई गुरुकुलमा राखेर पढाउन सकिएको विद्यालयका प्राचार्य बस्यालले बताउनुभयो।

गुरुकुलका विद्यार्थीले नियमित रूपमा साँझका बेला गङ्गा आरती गर्दै आएका छन्, यस्तै नदीको संरक्षणका लागि विभिन्न क्रियाकलाप गर्दै आएका छन्।

Ads

सम्बन्धित पोष्टहरू