Ads

टी-२० क्रिकेटमा पहिलो ट्रिपल सुपर ओभर : रोमाञ्चक खेलमा नेपाल पराजित


स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाको सोमबार राति सम्पन्न रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तेस्रो सुपर ओभरमा पुगेर हार–जित भएको यो पहिलो पटक हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पनि निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले एक विकेट गुमाएर १९ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले पाँच बलमा १८ रन बनाए । कप्तान रोहित पौडेलले एक बलमा एक रन बनाए । कुशलले दुई छक्का र एक चौका हिर्काए भने दौडिएर दुई रन पनि लिए ।

सुपर ओभरमा जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सले समेत कुनै पनि विकेट नगुमाई १९ रन नै बनायो । सुपर ओभरमा नेपालको तर्फबाट करण केसीले बलिङ गरेका थिए । उनले पहिलो बलमा ६ रन दिए भने दोस्रो बलमा रन दिएनन् ।

तेस्रो बलमा लेग बाइमार्फत एक रन दिए भने चौथो बलमा दुई रन दिए । उनले पाँचौँ बलमा ६ रन र अन्तिम बलमा चार रन दिए । त्यसपछि खेल दोस्रो सुपर ओभरमा गएको थियो । दोस्रो सुपर ओभरमा नेपाली टोलीको तर्फबाट ललित राजवंशी बलिङ गर्न आएका थिए । नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएर १७ रन बनायो ।

ललितले पहिलो बलमा ६, दोस्रो बलमा एक र तेस्रो बलमा ६ रन दिए । उनले चौथो बल वाइड फाले । त्यसपछि एक रन दिए । पाँचौ बलमा दुई रन दिए भने अन्तिम बलमा विकेट लिएका थिए ।  दोस्रो सुपर ओभरका लागि जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पनि कुनै विकेट नगुमाई १७ रन नै बनायो । दोस्रो सुपर ओभरमा नेपालका लागि रोहित पौडेलले दुई बलमा सात रन र दीपेन्द्रसिंह ऐरीले चार बलमा १० रन बनाए ।

त्यसपछि खेल तेस्रो सुपर ओभरमा गयो । तेस्रो सुपर ओभरमा नेपालको ब्याटिङ निकै खराब रह्यो । नेपालले चार बलमा कुनै रन नबनाई दुवै विकेट गुमाएपछि नेदरल्यान्ड्सले जितका लागि एक रनको लक्ष्य पाएको थियो ।

तेस्रो सुपर ओभरको पहिलो बलमै कप्तान रोहित आउट भए । दोस्रो र तेस्रो बलमा रुपेश सिंहले रन लिन सकेनन् । चौथो बलमा रुपेश सिंह पनि आउट भए ।  तेस्रो सुपर ओभरमा एक रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले पहिलो बलमै छक्का प्रहार गर्दै ऐतिहासिक जित हासिल गरेको हो  । तेस्रो सुपर ओभरमा नेपालको तर्फबाट सन्दीप लामिछाने बलिङ गर्न आएका थिए ।

त्यसअघि, निर्धारित ओभरमा नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाएका थिए । उनले ३५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । रोहित आउट भएपछि सन्दीप लामिछाने र नन्दन यादवले खेललाई सुपर ओभरमा पुर्‍याएका हुन् । नन्दनले अन्तिम बलमा चौका प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्‍याएका थिए । उनले चार बलमा दुई चौकाको मद्दतले अविजित १२ रन बनाए । सन्दीप चार रनमा अविजित रहे ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३४ रन बनाए । उनले केवल २३ बलमा पाँच चौका पनि हिर्काए । रुपेश सिंहले १९ रन बनाए । उनले १४ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।

किरण ठगुन्नाले पनि १५ रन बनाए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो ।  त्यसअघि, टोलीको कुल स्कोर ५५ रन रहँदा तीन प्रभावशाली विकेट गुमाइसकेको नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका तेजाले ३७ बलमा एक चौका प्रहार गरे । बिक्रमजित सिंहले पनि ३० रन बनाए । ओपनर माइकल लेभिटले २० रन बटुले ।  अर्का ओपनर म्याक्स ओ’डड १९ रन बनाउँदै पेभेलियन फर्किए । आठौँ नम्बरमा क्रिज समाल्न आएका सकिब जुल्फिकरले टोलीको खातामा अविजित २५ रन थपे । उनले केवल १२ बलमा दुई छक्का र एक चौका प्रहार गरे ।

नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । प्रभावशाली लेग–स्पिनर सन्दीपले चार ओभरमा केवल १८ रन खर्चिए । अन्तिम ओभर बलिङ गर्ने क्रममा नेपाली टोलीका बलर नन्दन यादब घाइते भएका थिए । उनको औंलामा चोट लागेको थियो ।

अन्तिम बल फाल्नुअघि नन्दन घाइते भएपछि उनको स्थानमा करण केसी बलिङ गर्न आएका थिए । घाइते हुनुअघि नन्दनले दुई विकेट लिए । उनले २.५ ओभरमा केवल १८ रन खर्चिएका थिए । ललित राजवंशी र कुशल भुर्तेलले पनि एक–एक विकेट हात पारे ।

यसअघि स्कटल्यान्डमै खेलिएको लिग–२ अन्तर्गतको शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई दुबै खेलमा पराजित गरेको थियो । उक्त शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा पाँच विकेटले र दोस्रो खेलमा १६ रनले हराएको थियो ।

लिग–२ प्रतियोगिताको हरेक शृंखलापछि सहभागी तीनवटै टोलीबिच दुई–दुई खेलको टी–२० शृंखला खेलिने परम्परा रहँदै आएको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षकका रुपमा स्टुअर्ट लको पनि यो पहिलो औपचारिक टी–२० शृंखला हो ।

यो टी–२० शृंखला आगामी आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिताका लागि तयारीको महत्वपूर्ण अवसर पनि हो । आगामी टी–२० विश्वकपका लागि एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता सन् २०२५ को अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

विश्वकप छनोटमा नौ टोलीको सहभागिता रहनेछ । विश्वकप छनोट प्रतियोगितामा नेपालका अतिरिक्त जापान, कुवेत, मलेसिया, ओमान, पपुवा न्यू गिनी, कतार, सामाओ र संयुक्त अरब इमिरेट्स (यूएई) को सहभागिता रहने छ ।

यो छनोट प्रतियोगिताबाट अंक तालिकाको माथिल्लो स्थानमा रहने तीनवटा टोलीले आगामी विश्वकपमा स्थान बनाउने छन् । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण भने सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुँदैछ ।

नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म १४ वटा टी–२० खेलिएको छ । त्यसमध्ये आठ खेलमा नेदरल्यान्ड्स र पाँच खेलमा नेपाली टोली विजयी भएका छन् । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू