फुङ्लिङ । तेल्लोक र सिकैचाको सिरानमा पर्छ, काँडेभन्ज्याङ। कतिपयले सिन्चेबुङ भन्ज्याङ पनि भन्छन्। यहाँ एक दर्जनभन्दा बढी घर छन्। पहिले खरले छाएको छानो अहिले हरिया नीला जस्तापाताले छपक्कै ढाकेको छ। बस्तीनजिकैको हरियाली डाँडामै पर्छ पाथीभरा मन्दिर। तेल्लोक र सिकैचा सिमा काँक्र चिरेझै बाटोले चिरेको छ। त्यही भएर वल्लो घर तेल्लोकमा पल्लो घर सिकैचामा पर्छ। तेल्लोक–४ मा पर्छ भने सिकैचा ३ नं. वडा हो। वडा फरक पर्दा कहिलेकाहीँ एउटै सेवा लिने ठाउँ पनि फरक फरक स्थानमा धाउनु पर्छ।
पल्लो घरका टेकबहादुर खड्काले सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा वल्लो घरको नरमाया राई दुई घण्टाको बाटो हिँडेर वडा कार्यालय पुग्नुपर्ने हुन्छ। वडा नं. ३ ले सिकैचाले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ। यस्तै वडा नं ४ तेल्लोकमा भने उक्त व्यवस्था नभएका कारण नरमाया राई दुई घण्टाको बाटो हिँड्न बाध्य हुनुहुन्छ।
डाँडामै छ, पाथीभरा मन्दिर। त्यही बस्तीमा पर्छ, गोपीकृष्ण खड्काको घर। बिहानीको समयमा घरमै भेटिनुभएका खड्काले भन्नुभयो, “न त पहिला जस्तो चहलपहल छ । न त व्यवसाय नै।” काँडेभन्ज्याङका बारेमा जानकारमध्ये ५० वर्षीय खड्का पनि एक हुनुहुन्छ। सडक पहुँच नहुन्जेल सदरमुकाम आवतजावतमा बसोबास गर्ने थलो थियो। पेदाङ, मामाखे र याम्फुदिन जाने बाटो बस्तीबाट तेर्सिन्छ। तेल्लोक मुनि बस्ती, मेहेले, सुरुमखिम र खेवाङ आवतजावत गर्ने मुख्य बाटो यही नै हो। विदेशी पर्यटकको क्याम्प पनि यही नै हो। कोभिड–१९ महामारीभन्दाअगाडि पर्यटकले क्याम्प छपक्कै ढाकेका बारी अहिले पाखा बारी बनेका छन्। कोरोनासँगै शून्य बन्यो काँडेभन्ज्याङ।
सुकेटार लालीखर्क काँडेभन्ज्याङ फुम्पे वा मामाङ्खे र याम्फुदिन ट्रेकिङ क्याम्प हो। खड्काले अनुभव सुनाउँदै भन्नुभयो, “सडक नहुन्जेल घर यति व्यवस्थित थिएन। तै पनि व्यापार र रोजगारी मिल्थ्यो।” ट्रेकिङको भारी बोकेर २० पटकसम्म कञ्चनजङ्घा पुगेको खड्काले सुनाउनुभयो। त्यो बेला दैनिक ज्याला तीन सय रुपियाँ थियो।
सुवास बस्नेत पनि पुरानामध्ये एक हुनुहुन्छ। जो, अहिले पसल गर्नुहुन्छ तर अहिले सुनसान भएका कारण पसल पनि उराठ लाग्दो भएको उहाँको दुखेसो छ। बस्नेतसँग धरानदेखि नुन बोकेको अनुभव पनि छ तर समयसँगै सडक बन्यो । मान्छे गाडीमै यात्रा गर्न थाले। विदेशी पर्यटक पनि सिधै गाडीमा याम्फुदिन जान थाले। त्यही भएर बाटो झाडीमा परिणत हुन थाल्यो । कोरोना त एउटा बहाना मात्र बनिदियो।
गाउँघरमै काम पर्दाबाहेक बाटो हिँड्डुल गर्ने छैनन्। बस्नेतले भन्नुभयो, “पहिले जस्तै व्यवसाय हुनेमा आशावादी छ तर नयाँ रणनीति बनाउन आवश्यक छ।” उहाँको नयाँ रणनीति भने बस्तीलाई पर्यटनसँग जोड्न जरुरी रहे छ। पर्यटकीय संरचना बनाउन डाँडाले साथ पनि दिएको उहाँको भनाइ छ।
आन्तरिक तथा बाह्य पर्यटक रुचि अनुसार घर र टेन्टमा बस्थे। विदेशी पर्यटकका भरिया बन्थे। मादल बजाउँथे। नाचगान गर्थे। स्थानीय जाँडदेखि मकै, भटमास बिक्री हुन्थ्यो। पालिएका कुखुरा खसीले राम्रो मूल्य पाइन्थ्यो। सुतेको पैसा तिर्थे। दाउरा पानी प्रयोग गरेबापत आम्दानी हुन्थ्यो। युवाले विदेशी पर्यटकको भारी बोक्ने रोजगारी पाउँथे तर विगतको यथार्थ अब सम्झनामा मात्र बाँकी छ।
त्यो बेला आफ्नो छुट्टै पहिचान बोकेको काँडेभन्ज्याङ अहिले सुनसान मात्र होइन सञ्चारबाट समेत वञ्चित छ। कसैलाई फोन गर्नु परेमा पल्लो डाँडामा कुद्नुपर्ने बाध्यता छ। गोपिकृष्ण खड्का भन्नुहुन्छ, “स्थानीय सरकारले हामीलाई नेटर्वकको व्यवस्था गरिदिए आभारी हुने थियौँ। उहाँले भन्नुभयो, “माग त धेरै छन्, तर अहिलेलाई नेटर्वक र इन्टरनेटको सुविधा पाए हुने थियो।”
यता गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले चाँडै नै उक्त क्षेत्रमा सञ्चार समस्याको समाधान हुने बताउनुभएको छ। केही समयअघि मात्र कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गाउँपालिकाले आग्रह गरेको थियो। पालिकाको ८ नम्बर वडा याम्फुदिनमा अवस्थित आधार शिविरमा पर्ने नयाँझोरेनी, झन्डेडाँडा, दुन्दुडाँडा, तोरोङदेन क्षेत्रमा सञ्चार सेवाको विस्तार गरी कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई सहजता प्रदान गर्न तत्काल टावर निर्माणको पहल अगाडि बढाइदिन पत्रमार्फत आग्रह गरिएको थियो।
भविष्यमा काँडेभन्ज्याङ पुरानै लयमा फर्किन सक्ला ? यहाँका बासिन्दाको मुख्य चिन्ता यही हो। सदरमुकाम सुकेटार फावाखोला सिकैचा काँडेभन्ज्याङ तेल्लोक गाउँपालिका केन्द्र सडक ट्र्याकमा गाडी गुड्छ तर कालोपत्रे कहिले हुन्छ, टुङ्गो छैन। कालोपत्रे भए सडकमा गाडीको चहलपहल बढ्न सक्थ्यो। यहाँको बासिन्दाको पहिलो माग पनि सडक कालोपत्रे होस् भन्ने नै रहेको छ। सडक कालोपत्रे भए यहाँ पाथीभरा मन्दिर आवतजावत गर्नेलाई खाजा, नास्ता र बास बस्ने गन्तव्य हुन सक्थ्यो। रैथाने खानेकुरा किनबेच हुन्थ्यो। खोलिएका घरबास सेवा पुरानै लयमा फर्कन मद्दत मिल्थ्यो।
प्रतिक्रिया दिनुहोस्