जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानमा उत्साह थप्न प्रोत्साहन भत्ता अर्थात् ‘गोठालो भत्ता’को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन् ।
भेडापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् ‘गोठालो भत्ता’ प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए ।
कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेडा पालन व्यवसायमा टेवा पुगेको छ । जिल्लाको सिंजा गाउँपालिका–६ का भेडापालक किसान भीमबहादुर रावतले भने, “यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु । अहिले १०० भन्दाबढी भेडा रहेका छन् । सो रकमले भेडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेडापालक किसान रावतको भनाइ छ ।”
चालु आर्थिक वर्षमा यहाँका २३० जना भेडा किसानले प्रोत्साहन भत्ता पाएका छन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसान छन् । जहाँ ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा पालिएका छन् ।
जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए । भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेडा पालक किसान रुञ्ज रावतको भनाइ छ ।
कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्