इन्टर मियामीको सिजन क्लब विश्वकपको पहिलो हाफ सकिँदासम्म निकै कठिन अवस्थामा पुगेको देखिन्थ्यो । बिहीबार राति पोर्चुगलको पोर्टो क्लबविरुद्धको पहिलो हाफमा १–० गोलले पछि परेको मियामीका लागि दोस्रो हाफ निर्णायक सावित भयो ।
प्रशिक्षकले गरेको रणनीतिक परिवर्तन र लियोनल मेस्सीको शानदार फ्रिकिक गोलपछि क्लब विश्वकपमा जित हासिल गर्ने पहिलो एमएलएस (अमेरिकन मेजर लिग सकर) टिम बनेर मियामीले इतिहास रच्यो । आयोजक राष्ट्रको क्लबको हैसियतमा क्लब विश्वकप खेल्न पाएको इन्टर मियामीको सहभागितालाई धेरैले गम्भीर रूपमा लिएकै थिएनन् ।
अब ब्राजिलको पामेइराविरुद्धको खेल जितेमा र पोर्टोले अल–अहलीसँग हार व्यहोरेमा इन्टर मियामी क्लब विश्वकपको अन्तिम १६ मा पुग्ने छ । यो उपलब्धि पनि इन्टर मियामीका लागि ऐतिहासिक हुने छ ।
पोर्टोविरुद्ध मेस्सीको स्कोर क्लबका लागि ५०औँ गोल थियो, जुन निर्णायक मात्र नभई प्रतीकात्मक रूपमा पनि निकै महत्त्वपूर्ण रह्यो । निकै महत्त्वपूर्ण मोडमा भएको यो गोलले एमएलएस क्लबहरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सन्देश दिएको सीबीएस स्पोर्ट्सले लेखेको छ । यद्यपि एमएलएस क्लबहरू विश्वका ठूला क्लबहरूजति गहिरो टिम संरचना वा स्रोतसाधनका हिसाबले सम्पन्न छैनन् ।
लियोनल मेस्सीजस्ता खेलाडी टिममा हुँदा काम सजिलो देखिए पनि इन्टर मियामीको यो जित सहज भने थिएन । मियामी टिमले कठिन चुनौती पार गरेर क्लब र अमेरिकी फुटबल दुवैका लागि ऐतिहासिक सफलता हात पारेको छ ।
खेलको पहिलो हाफमा पोर्टोले इन्टर मियामीलाई सबै तरिकाले दबाबमा राख्यो । तर, दोस्रो गोल गर्न नसक्दा मियामीलाई खेलमा फर्किन सजिलो भयो । पहिलो हाफको ब्रेकमा जाँदा मियामी १ गोलले पछाडि थियो ।
दोस्रो हाफपछि प्रशिक्षक जाभियर मास्चेरानोले टिममा केही रणनीतिक परिवर्तन गरे, जसको नतिजा तुरुन्तै देखिएको थियो । ४७औं मिनेटमा मियामीले बराबरी गोल फर्काएर खेलको लय नै बदलिदियो ।
मास्चेरानोको प्रशिक्षकका रूपमा यो अहिलेसम्मको सबैभन्दा ठूलो जिम्मेवारी हो । इन्टर मियामीबाट एमएलएस कप जित्ने अपेक्षा भएकाले उनले धेरै नै चासो र दबाबका बीच टिम हाँक्नुपर्ने छ । तर, पछिल्लो जितले उनले ती अपेक्षाहरू पूरा गर्न सक्ने संकेत देखाएका छन् । सीबीएस स्पोर्ट्सले लेखेको छ, ‘उनी प्रशिक्षण यात्रामा पनि परिपक्व बन्दै गइरहेका छन् ।’
बिहीबार रातिको खेलमा उनले इयान फ्रेलाई सेन्टर ब्याकमा स्थानान्तरण गरे र बेन्जामिन क्रेमास्कीलाई मिडफिल्डमा ल्याइदिए । यही कारण मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै मियामीलाई जिततिर डोर्याउन सजिलो भयो । ४७औँ मिनेटमा तेलास्को सेगोभियाले इन्टर मियामीका लागि बराबरी गोल फर्काए भने ५४औँ मिनेटमा फ्रिकिकमार्फत विजयी गोल गरे ।
यद्यपि इन्टर मियामीले क्लब विश्वकपमा अझै खेल खेल्न बाँकी । प्रतियोगितामा अगाडि बढ्न क्बले अर्को अझै राम्रो प्रदर्शन गर्न आवश्यक छ ।
क्लब विश्वकपमा एमएलएसको यो दोस्रो सहभागिता हो । सन् २०२२ मा सिएटल साउन्डर्सले पहिलो पटक सहभागिता जनाएको थियो । तर यो क्लबले कुनै पनि खेल जित्न असफल रह्यो । यसपल्ट इन्टर मियामी आयोजक राष्ट्रको टिमको रूपमा स्वतः छनोट भएको थियो । पोर्टोलाई हराएर मियामीले प्रतियोगितामा आफ्नो सहभागितालाई बलियो र स्मरणीय बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्