काठमाडौं। प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार अरूलाई दुख दिने बारुलो जस्तो हुन नहुने बताएका छन् ।
मिडिया र सामाजिक सञ्जाल फरक रहेको भन्दै बस्नेतले मिडिया सञ्चार माध्यमको स्वरूपमा हुने तर सबै सामाजिक सञ्जाल मिडिया नहुने सबैले बुझ्नु पर्ने बताए।
‘पत्रकारिता कर्म गर्ने पत्रकार अरूलाई दुख दिने बारुलो हुन सक्दैनन्, मेहनती र कर्मठ कर्मी माहुरी जस्तै हुनुपर्छ,’ उनले भने ।उनले काउन्सिलमा रहँदा फेसबुक, टिकटक जस्ता सञ्जालमा समेत नियमन थालेका थिए । कुन मिडिया हुन्, कुन होइनन् भन्ने भ्रम समाजमा बढिरहेका बेला उनले शनिवार सामाजिक सञ्जाल मार्फत प्रस्ट सुझाव राखेका हुन्।
समाचार र अफवाह सूचनालाई चामल र भुस जत्तिकै छानेर सञ्चारमाध्यमका रूपमा आएका सञ्जाल र अन्य सञ्जाल भनी छुट्याउन र चिन्नुपर्ने उनको भनाइ छ ।
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्- ‘राम्रो नदेख्ने र नलेख्ने सामाजिक सञ्जालको भाष्य हुनुहुन्न । नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सञ्जालमा राख्नु उपर्युक्त हुन्छ । राम्रो नदेख्ने र नलेख्ने सामाजिक सञ्जालको भाष्य हुनुहुन्न । नभएका कुरा जोडजाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सञ्जालमा राख्नु उपर्युक्त हुन्छ ।
गालीगलौज र अश्लील भाषा, हिंसा, द्वेष फैलाउने, मनमुटाब बढाउने, जातजाति, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युब, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ । नभएका कुरा गरेर फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति पटक्कै होइन । आफ्नो संस्कृति आफै मिचेर बलवान होइन ।’
युट्युब र अन्य सामाजिक सञ्जाललाई अवसरका रूपमा लिई सदुपयोग गर्नुपर्छ, बस्नेतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्