Ads

गिद्धे प्रेस राष्ट्रिय पुरस्कार घिमिरे र काेइरालालाई


काठमाडौं । गिद्धे प्रेस यूट्युव च्यानलले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। ‘उत्साह र समर्पणको पहिलो वर्ष !’ नाराका साथ आफ्नो पहिलो वार्षिकोत्सव मनाएको गिद्धे प्रेसले पहिलो पटक ‘गिद्धे प्रेस अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार -२०८२’ साहित्यकार श्याम प्रधान र ‘गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार -२०८२ ‘ बिपी कोइरालालाई प्रदान गर्यो ।

नगद राशिसहितका यी पुरस्कार गिद्धे प्रेसले आफ्नो पहलमा संस्थापना गरेको हो । पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले सत्यमोहनको योगदान र ललितपुर नगरले उहाँको सम्मानमा गरेको कामका बारे चर्चा गरे । यस्तै यस्ता अभियानले सत्यमोहन जोशीको योगदान जीवन्त हुने र पुरस्कृत व्यक्तिको पनि उचित मूल्याङ्कन हुने बताए । उनले नेपाली यूट्युव पत्रकारितामा गिद्धे प्रेसले परिपक्व पत्रकारिता गरिरहेको बताउँदै जीवनमा पहिलो पटक अन्तर्वार्तामा गिद्धे प्रेससँग धेरै अन्तरङ्ग भएर खुलेको समेत प्रष्ट पारे ।

कार्यक्रममा डा. तुलसी भट्टराईले साहित्यमा सत्यमोहन जेशीको योगदानलाई चीरकालसम्म सम्झाउन यस्ता कार्यक्रम प्रभाववकारी हुने बताउँदै पुरस्कृत व्यक्तित्व प्रधान यस्ता पुरस्कारको हक राख्न सक्ने प्रतिभा भएको दाबी गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेले साहित्य र पत्रकारितालाई सँगसँगै जोडेर गिद्धे प्रेसले गरेको काम उदाहरणीय भएको जनाए। कार्यक्रममा वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आफ्नो नामबाट पुरस्कार स्थापना गरेको सुनेर आश्चर्यमा परेको बताउँदै वर्तमान समयमा नेपाली पत्रकारिता जोखिममा रहेको भनाइ राखे ।

पुरस्कृत व्यक्तित्व प्रधानले यसरी यति ठूलो नामसँग जोडिएको पुरस्कार आफूले प्राप्त गरुँला भन्ने कल्पना नगरेको बताउँदै पुरस्कारले साहित्यसेवामा सक्रिय भएर काम गर्न अझ हौसला मिलेको प्रतिक्रिया दिए ।

यस्तै कार्यक्रममा गिद्धे प्रेसका सम्पादक एवं सञ्चालक कवि ठाकुर बेलवासेले साहित्य र पत्रकारिताका क्षेत्रमा यसरी पुरस्कार स्थापना गर्दा संस्था अझ बलियो हुने र कामको क्षेत्र फराकिलो हुने दाबी गरे। उनले यी पुरस्कारहरूलाई स्थागत बनाउने प्रण समेत गरे।

बेलवासेले भ्यूज र पैसाका लागि मात्रै गिद्धे प्रेसले काम नगरेको बताउँदै आफूहरूले प्रसारण गरेका हरेक सामग्री अर्काइभमा सुरक्षित गरेको बताए । पत्रकारितामा पैसाभन्दा पनि भावनाले काम गर्न प्रेरणा दिने उनको भनाइ थियो । कार्यक्रममा उपस्थित अतिथिहरूलाई कवि प्रद्युम्न जोशीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन कवि युवराज शर्माले गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू