नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा सहमति भइसकेको विधेयक संसद्को कार्यसूचीमा चढेर पनि फिर्ता हुनु गम्भीर विषय रहेको बताएका छन् ।
समितिमा सहमति भएका विधेयकमा छेडखानी नगर्न उनले सरकारको ध्यानाकर्षण गराए । बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले संघीय निजामती विधेयक संसद्को कार्यसूचीमा परेर पनि स्थगित हुनु गम्भीर विषय रहेको बताएका हुन् ।
‘समितिमा सहमति भएका विषयलाई छेडखानी गर्ने काम नहोस्, यहाँ सर्वसम्मत भएका कुरालाई बिगार्ने काम नहोस्,’ उनले भने, ‘यहाँबाट पारित भएका विधेयक समयमा पारित हुन्, गृहमन्त्री र रक्षामन्त्रीसहित सबैको ध्यानाकर्षण गराउँछु ।’
समिति सभापति रामहरि खतिवडाले कार्यसूचीमा चढेर पनि फिर्ता भएको संघीय निजामती विधेयक छिट्टै पारित हुने अपेक्षा रहेको बताएका थिए । ‘कुलिङ पिरयड’सम्बन्धी व्यवस्थाका कारण विधेयक पारित हुन ढिलाइ भइरहेको छ ।
सरकारसँग समझदारी बनाऔं भन्नुको कारण पनि कतिपय विधेयक पारित गर्नुपर्ने टड्कारो रहेको उनले बताए । ‘विद्यालय शिक्षा ऐन असार १५ सम्म ल्याउने भनेर सरकारले शिक्षकसँग सहमति गरेको थियो । तर, आफैंले गरेको सहमति विपरीत विद्यालय शिक्षा विधेयक अगाडि बढेको छैन, त्यत्तिकै टारिने त होइन ? अहिले अलिबढी चिन्ता भइरहेको छ,’ प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्