Ads

असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान


काठमाडौँ । नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख दही खपत हुने अनुमान गरिएको छ ।  नेपाल डेरी एसोसिएसनका अनुसार दही चिउरा  खाने दिनमा ८० लाख लिटर दही खपत हुने अनुमान भएको हो ।  एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार  देशभर  करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अनुमान रहेको छ ।

नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौँमा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ गरेर  दही  खपत र यसको महत्वबारे जानकारी गराएको हो । सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी,  विशेष अतिथिमा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालको उपस्थिति रहेको थियो ।

के छ दहीको महत्त्व ?

डेरी एसोसिएसनका अनुसार दही चिउरा जस्ता परम्परागत आहारहरू केवल सांस्कृतिक पहिचान नभई पोषणीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छन्। दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ तथा लाभदायक ब्याक्टेरिया (प्रोबायोटिक्स) पाइने भएकाले यसले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ ।

साथै, छालालाई स्वस्थ राख्ने, हड्डी तथा दाँत बलियो बनाउने र मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउने यसको विशेषता हो। नेपाली संस्कृति अनुसार दही शुभ कार्यमा सगुनको रूपमा प्रयोग गरिन्छ, जसले गर्दा यसको सामाजिक तथा धार्मिक मूल्य पनि उच्च छ ।

Ads

सम्बन्धित पोष्टहरू