काठमाडौं । तरुण दलका केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग नभएसम्म आमरण अनशन नतोड्ने अडान राखेका छन् । उनीहरुले महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति भंगको माग गर्दै आमरण अनसन जारी राखेका छन्। यो वा त्यो बहानामा अनशन नतोडिने उनीहरुको अडान छ । छलफलबाट आफूहरुले राखेको माग गलत भन्ने पुष्टि भएमा भने तुरुन्तै अनशन त्याग्ने उनीहरुले स्पष्ट पारेका छन् ।
यही असार १५ गते आइतबारदेखि नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्य राई र बास्कोटा आमरण अनशन बसिरहेका हुन् । उनीहरुलाई तरुण दलका अन्य केन्द्रीय सदस्यहरुले, पार्टीका नेता कार्यकर्ताहरुलगायतले साथ दिइरहेका छन् । तरुण दलको तदर्थ समिति महाधिवेशन गर्न असक्षम रहेको आन्दोलनरत पक्षको दाबी छ ।

पानी पनि नपिई कार्यालयको मूल ढोकामा अनशनरत राई र बास्कोटा शारीरिकरुपमा कमजोर र थकित हुँदै गएका छन् । उता कार्यालयभित्र भने कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ । याे समाचार तयार पारूञ्रजेलसम्म कार्यालयभित्र बैठकमा चर्काचर्की छ तर तरुण दलको विषयमा भने आवाज उठेकै छैन । बैठक हलमा प्रवेस गर्ने बेला कांग्रेस उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्काले अनशनरतसँग गफगाफ गरे । तर पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा अनसनस्थल छल्दै पछाडिको ढोकाबाट छिर्ने गरेका छन् । केन्द्रीय सदस्य अम्बिका बास्कोटा भन्नुहुन्छ, ‘सभापति देउवा र महामन्त्रीद्वय मुल गेटबाट प्रवेश गर्नुहुन्न । बाटो बदलिरहनु भएको छ, पछाडिको ढोकाबाट छिर्नुहुन्छ ।’
यस्तै पत्रकारहरु अनशनमा बसेकाहरुसँग भेटघाट गर्न जाँदा प्रहरीले गेटैबाट रोक्ने गरेको छ । पार्टी प्रवक्ताको चिट लिएर आएमात्र छिर्न दिने भन्दै पत्रकारलाई कार्यालय प्रवेशमा कडाइ गर्ने गरेका छन् । लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका पार्टी सभापति देउवाले आफूहरुको संगठन सुधार गर्ने जायज मागहरु सम्बोधन गर्नेमा विश्वस्त रहेको बास्कोटाले जनाउनुभयो । ‘तर अनशनरत आफूहरुलाइ गैंडाको छाला कनाइरहेको जस्तो महसुस भइरहेको छ, नेताहरुले ध्यान दिएका छैनन् । हामीहरू हार मान्ने पक्षमा छैनौं’, राई र बास्कोटा बताउँछन् ।

‘वर्तमान तरुण दलको तदर्थ समिति गठन भएको तीन वर्ष भइसक्यो, यसलाई भंग गरेर सानो कमिटी निर्माण गरेर शीघ्र महाधिवेशन गर्नुपर्छ, वर्तमान समितिले महाधिवेशन गर्छ भन्नेमा अलिकति पनि विश्वास छैन’, केन्द्रीय सदस्य बास्कोटाको भनाइ छ । थुप्रै कांग्रेस नेताकार्यकर्ताहरुले राई र बास्कोटासँग भेटघाट गर्दै माग जायज रहेको प्रतिक्रिया दिने गरेका छन् । यस्तै उनीहरुले अनशनरत नेताहरुको स्वास्थ्यमा चासो राख्दै केन्द्रीय तहमा कुरा राख्ने आश्वासन पनि दिइरहेका छन् ।
नेता डा. शेखर कोइरालालगायत आएर भेटघाट गरिसक्नु भएकाे छ । तर भोलि पार्टी सभापतिको भूमिकामा देखिने महामन्त्रीद्वय पछाडिको ढोकाबाट छिरेर आफूहरुलाई वेवास्ता गरेकाे अनशनरत बास्कोटाकाे गुनासो छ । ‘ ६ वा ८ महिनाभित्रमा अधिवेशन गर्नुपर्नेमा तीन वर्षसम्म गर्न नसक्नेलाई हटाऔं भन्दापनि केही नेताहरुले पुरस्कृत गरिरहनु भएको छ, यो अत्यन्त गलत प्रवृतिको थालनी, गलत परम्पराको स्थापना हुन लागिरहेको छ । यसैलाई तोड्न हाम्रो आमरण अनशन हो ‘, बास्कोटा थप बताउनु हुन्छ ।

वर्तमान तरुण दल तदर्थ समितिकाे नेतृत्वले संगठनमा गुटउपगुट मच्चाएर लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहकको जिम्मेवारी दिइएको अनशनरत राई, बास्कोटालगायत अन्य केन्द्रीय सदस्यहरुको आरोप छ ।
त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटकपटक म्याद थप्दा पनि ३\३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको लगायतका कारण तदर्थ समिति भंग हुनुपर्ने माग राख्दै आमरण अनशन बसेको तरुण दलका केन्द्रीय सदस्य राई र बास्कोटाले अअनशन सुरु गरेको दिन नै जानकारी गराइसकेका छन् । कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न आन्दोलनरत पक्षले दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्